
डि.एन.बी.,
पोखरा, १६ माघ,
स्याङ्जा वालिङको होराइजन क्लब ले पोखरामा शुक्रबार सम्पन्न भएकोे २६ औँ आदर्श कप फुटबल प्रतियोगिता २०८२ को उपाधि जितेको छ । पोखरा २९ भण्डारढिक खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा होराइजनले गण्डकी प्रदेश प्रहरीको टोलीलाई सडेन डेथमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
निर्धारित समयमा दुबै तर्फ १–१ गोलको बराबरी पुगे पछि अतिरिक्त समय १०÷१० मिनेटमा पनि गोल हुन नसके पछि खेल टाईब्रेकरमा दुबै तर्फ चार , चार र पहिलो सडेन डेथमा दुबै तर्फ एक एक गोल भए पछि सडेन डेथको दोश्रो प्रहारमा प्रहरीका विनोद तामाङले सडेन डेथमा प्रहार गरेको वल पोष्ट माथिबाट बाहिरिएसंगै प्रहरी पराजित हुन पुग्यो । होराइजनका वसन्त बहादुर रानाले सडेन डेथमा गोल गरेका हुन् । (टाईब्रेकरको सडेन डेथमा ६—५ को गोल अन्तरले प्रहरी पराजित भएको हो ।)
होराइजनका बसन्त रानाले खेलको ६१ औँ मिनेटमा गोल गर्दा प्रहरीका रोजल दाहालले इन्जुरी समयको दुई मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएका हुन् । उपाधिसँगै च्याम्पियन होराइजन क्लब वालिङ्गले नगद ४ लाख ९९ हजार ९ सय ९९ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको गण्डकी प्रदेश प्रहरीको टोलीले ३ लाख ३३ हजार ३ सय ३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस अघि आदर्श युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको समापन समारोह क्लबका अध्यक्ष पदम गुरुङको अध्यक्षता तथा सचिव सन्तोष गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो। समारोहका प्रमुख अतिथि प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य–सचिव श्रीधर शर्माले भण्डारढिकस्थित कभर्ड हल निर्माणका लागि बजेट विनियोजन भइसके पनि कार्यान्वयन नहुनु दुखद विषय भएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टोलीलाई पुरस्कार प्रदान गरिएको थियो। गण्डकी प्रदेश प्रहरीका रोजल दाहाल उत्कृष्ट खेलाडी घोषित भए भने होराइजन क्लबका सुन्दर श्रेष्ठ उत्कृष्ट प्रशिक्षक बन्न सफल भए। यस्तै, उत्कृष्ट गोलरक्षक होराइजनका टोपबहादुर राना, उत्कृष्ट डिफेन्स होराइजनकै सन्दीप श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर तथा प्लेमेकर गण्डकी प्रदेश प्रहरीका सुशील लामा घोषित भए ।
अनुसासित टिमको उपाधि तनहुँ जिल्ला फुटबल संघ (एन्फा) तनहुँ ले प्राप्त गरेको क्लवले पोखराक्लिकलाई जनाएको छ ।
विधागत पुरस्कार फस्ट चोइस फुड प्रा।लि।का प्रतिनिधि तथा मार्केटिङ म्यानेजर रमेश घिमिरे, क्लबका सल्लाहकार तथा प्रायोजक छत्रधर आत्रेय, पूर्व अध्यक्षहरू विजय गुरुङ र विशाल श्रेष्ठ, संस्थापक अध्यक्ष चेतबहादुर गुरुङ, सल्लाहकार मेजर रामप्रसाद गुरुङ तथा स्थानीय यातायात व्यवसायी केदार पौडेल लगायतका अतिथिहरूले वितरण गरेका थिए ।
२६ औँ संस्करणसम्म आइपुग्दा आदर्श कप गण्डकी प्रदेशकै प्रतिष्ठित फुटबल प्रतियोगिताको रूपमा स्थापित हुँदै गएको छ । प्रतियोगिताले स्थानीय प्रतिभा पहिचान, युवा खेलाडीको विकास र क्षेत्रीय फुटबलको स्तर उकास्न महत्वपूर्ण योगदान पु¥याउँदै आएको आयोजकको भनाइ छ । माघ ९ देखि सुरु भएको प्रतियोगितामा २ विभागिथय सहित ८ टिमको सहभागिता रहेको क्लवले जनाएको छ ।





