टाइगर कपको उपाधिका लागि गण्डकी प्रदेश भलिवल संघ र नेपाल पुलिस बीच खेल हुने, आयोजकले क्षमायाचना सहित सच्चायो

-


     पोखरा क्लिक     
     माघ १६ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १६ माघ,

छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश भलिवल संघ र नेपाल पुलिस क्लबबीच शनिबार फाइनल खेल हुने भएको छ । यसअघि फाइनल खेल गण्डकी र पर्वत जिल्ला भलिवल संघबीच हुने भनी सार्वजनिक गरिएको जानकारी प्राविधिक त्रुटिका कारण गलत भएको आयोजकले स्वीकार गर्दै आधिकारिक रूपमा सच्चाएको हो ।

पोखरा रंगशालास्थित भलिवल कोर्टमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा गण्डकी प्रदेश भलिवल संघ र पर्वत जिल्ला भलिवल संघबीच प्रतिस्पर्धा भएको थियो । पाँच सेटसम्म चलेको उक्त खेलमा गण्डकीले ३–२ सेटको जित निकाल्दै दुई अंक प्राप्त गरेको थियो भने पर्वतले एक अंकमा चित्त बुझाएको थियो । समूह चरणको अंक तालिकाअनुसार गण्डकी प्रदेश भलिवल संघ ५ खेलबाट ११ अंकसहित शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको छ । १० अंकसहित नेपाल पुलिस क्लब सेटका आधारमा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको आयोजकले जनाएको छ । समान १० अंक रहेको पर्वत जिल्ला भलिवल संघ सेट अन्तरका कारण तेस्रो स्थानमा सीमित भएको हो ।

यसअघि फाइनल खेल घोषणा गर्ने क्रममा प्राविधिक त्रुटिका कारण गलत सूचना प्रवाह भएको भन्दै टाइगर ग्रुप अफ पोखरा नेपालले विज्ञप्तिमार्फत क्षमायाचना गरेको छ । आयोजकले पुरुषतर्फको फाइनल खेल शनिबार गण्डकी प्रदेश भलिवल संघ र नेपाल पुलिस क्लबबीच हुने आधिकारिक जानकारी गराएको पोखराक्लिकलाई समेत उल्लेख गराएको हो ।आयोजकका अनुसार फाइनल खेल शनिबार दिउँसो २ः०० बजेपछि सुरु हुनेछ । त्यसभन्दा अघि तेस्रो स्थानका लागि नेपाल आर्मी क्लब र पर्वत जिल्ला भलिवल संघबीच बिहान ११ बजे खेल हुनेछ ।

च्याम्पियनसिपको विजेता टोलीले नगद ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, उपविजेताले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ र तेस्रो हुने टोलीले २ लाख ६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसैबीच, महिलातर्फ शुक्रबार सम्पन्न फाइनल खेलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितिसकेको छ । आयोजकले फाइनल खेलमा पनि भलिवल प्रेमी दर्शकको उल्लेख्य उपस्थितिको अपेक्षा गर्दै आगामी दिनमा यस्ता त्रुटि नदोहोरिने प्रतिबद्धता जनाएको छ ।