पुलिससंग गत बर्षको बदला लिदै गण्डकी टाइगर कपको उपाधि नजिक, फाइनल खेलमा पर्वत भलिबल संघसंग भिड्ने

-


     पोखरा क्लिक     
     माघ १६ गते २०८२ मा प्रकाशित


पोखरा १६, माघ,

विभागिय टोली नेपाली पुलिससंग गत बर्षको बदला लिदै घरेलु टिम गण्डकी प्रदेश भलिवल संघ पोखरामा जारी छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधि नजिक पुगेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आज (शुक्रबार) भएको समूह चरणको अन्तिम खेल पाँचौं सेटमा पुगेपछि गण्डकीले पुलिस माथि गत बर्ष फाइनल खेलमा पराजित भएको बदला यस बर्ष लिदै फाइनलमा यात्रा बनाउन सफल भएको हो ।

त्यती मात्र होइन पाँचौं सेटमा उक्त खेलमा पुगेर गण्डकी ११ अंक सहित शिर्ष स्थानमा रहदै फाइनलमा पुग्दा समान अंक १० भए पनि सेटका आधारमा पुलिस तेश्रो स्थानको लागि खेल्ने भएको हो । गत बर्ष पुरुष तर्फ गण्डकीलाई ३—१ को सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको थियो । यस बर्षको उपाधिको लागि गण्डकी प्रदेशले पर्वत जिल्ला भलिबल संघ शनिबार प्रतिष्प्रर्धा गर्ने भएको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको समूह चरणको अन्तिम खेल पाँचौं सेटमा पुगेपछि गण्डकी र पर्वत दुबैले फाइनलमा स्थान बनाएका हुन् ।

पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले गुमाउन पुग्यो । पुनः तेस्रो सेटमा २५–२२ ले जित निकालेको गण्डकीले चौथो सेट २३–२५ ले पर्वतलाई सुम्पिँदा खेल पाँचौं सेटमा धकेलियो । पाँचौं सेटमा १५–१३ को जित निकाल्दै गण्डकीले २ अंक प्राप्त ग¥यो । पाँचौं सेटमा पराजित पर्वतले एक अंक पायो । गण्डकी ५ खेलबाट ११ अंक र पर्वत १० अंकसहित पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । समान १० अंक रहेको नेपाल पुलिस क्लब सेटका आधारमा पर्वतभन्दा पछि रहँदै अंक तालिकाको तेस्रो स्थानमा रह्यो । त्रिभुवन आर्मी क्लब चौथो, सशस्त्र प्रहरी बल एपीएफ पाँचौं र माल्दिभ्स भलिबल एसोसियसन छैटौं भयो ।

गण्डकी र पर्वतबिचको फाइनल खेल शनिबार दिउँसो २ बजेबाट सुरु हुने आयोेजक संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले बताए। त्यसभन्दा अघि तेस्रो स्थानका लागि खेल हुनेछ । तेस्रो स्थानका लागि अंक तालिकाको तेस्रो स्थानमा रहेको पुलिस र चौथो स्थानमा रहेको आमी भिड्नेछ । उक्त खेल बिहान ११ बजेबाट सुरु हुनेछ । च्याम्पियनसिपमा विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६, उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोली २ लाख ६ हजार ६६६ रुपैयाँ पाउनेछन् ।
यसअघि आज भएको महिलातर्फका फाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड स्पोट्स क्लबले उपाधि जितेको थियो ।

न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पा¥यो ।