शनिबारदेखि पोखरामा यू–१९ महिला साफ च्याम्पियनसिप फुटबल हुने (भिडियो सहित)

-


     पोखरा क्लिक     
     माघ १५ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, १५ माघ,

खेलकुदको शहर पोखरामा १९ बर्ष मुनिका खेलाडीहरु सभागि (यू–१९) महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता शनिबार देखि सुरु हुने भएको छ । यही माघ २४ गतेसम्म पोखरा रंगशालाको फुटवल मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएकोे अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज (विहिबार) पोखरामा आयोजित पत्रकार सम्मेलनबाट जानकारी गराएको हो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को समन्वय तथा एन्फाको आयोजनामा हुने यस प्रतियोगितामा नेपाल सहित भारत, बंगलादेश र भुटान गरी चार देशका यू–१९ महिला टोलीको सहभागिता हुने भएको एन्फाका प्रवक्ता सुरेश शाहले बताउनु भयो । श्रीलंका, पाकिस्तान र माल्दिभ्स भने यस संस्करणमा सहभागी नहुने उनले जनाए । एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रत्नकुमार श्रेष्ठ ले प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो। प्रतियोगिताको पूर्वसन्ध्यामा शुक्रबार फेरी चारवटै देशका टोलीका प्रशिक्षक र कप्तानको सहभागितामा पोखरामा अन्तिम पत्रकार सम्मेलन समेत आयोजना गरी प्रतियोगितामा सहभागि हुने टिमको बारेमा जानकारी गराइने भएको उहाँले जनाउनु भयो ।

प्रशिक्षणका लागि पोखरा महानगरपालिका–१९, लामाचौरस्थित गोस्तेघाट खेल मैदान प्रयोगमा ल्याइएको जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले बताउनु भयो । खेलाडी चेन्जिङ रुम, प्लेयर बक्स, ड्रेसिङ रुम लगायत आवश्यक भौतिक पूर्वाधार तयार पारिएको छ । कास्की जिल्ला फुटबल संघ, पोखरा महानगरपालिका खेलकुद विकास समिति र प्रदेश फुटबल संघ को सहकार्यमा मैदान मर्मत तथा पूर्वाधार निर्माण गरिएको अध्यक्ष गुरुङले बताउनु भयो । प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड ४५ लाख १५ हजार २९० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यस अवसरमा साफका महासचिव पुरुषोत्तम कट्टेल ले आगामी दुई वर्षभित्र पोखरामै साफ फुटसल च्याम्पियनसिप आयोजना गर्ने योजना रहेको उद्घोष गर्नुभयो । आवश्यक पूर्वाधार तयार भएको खण्डमा पोखरामा थप अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने उहाँले दाबी गर्नुभयो ।

माघ १७ देखि २४ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा राउन्ड रोबिन लिग प्रणाली लागू हुनेछ । प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्नेछन् । लिग चरणपछि शीर्ष दुई टोलीबीच माघ २४ गते फाइनल खेल हुने भएको छ । प्रतियोगिताको उद्घाटन खेल माघ १७ गते बंगलादेश र भुटानबीच दिउँसो १२ बजे हुनेछ। सोही दिन आयोजक नेपालले भारतसँग दिउँसो ३ बजे प्रतिस्पर्धा गर्नेछ। लिग चरणका खेलहरू माघ १९ र २१ गते सञ्चालन हुनेछन्, जहाँ प्रत्येक दिन दुई–दुई खेल हुनेछन्। यस प्रतियोगिता पोखरामा आयोजना हुन लागेको सन् २०१९ को १३औँ दक्षिण एसियाली खेलकुद (साग) पछिको पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो । १३औँ सागमा पहिलो पटक महिला फुटबल पोखरा रंगशालामै आयोजना गरिएको थियो। घरेलु मैदानमा प्रतिस्पर्धा गर्न लागेको नेपाली यू–१९ महिला टोलीलाई समर्थन गर्न पोखरासहित देशभरका फुटबलप्रेमी दर्शकको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ ले बताउनुभयो।

यसै अवसरमा एन्फाका सिईओ इन्द्रमान तुलाधर ले पोखरालाई अन्तर्राष्ट्रिय फुटबलको ‘हब’ बनाउने लक्ष्यसहित एन्फा अघि बढिरहेको उल्लेख गर्नुभयो। दर्शकहरूको सहजताका लागि सामान्य प्यारापिटतर्फ २०० रुपैयाँ र भीआईपीतर्फ ५०० रुपैयाँ का टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ।



This will close in 20 seconds