जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई इक्रा शिक्षा फाउण्डेशनको सहयोगविपन्न तथा जेहेन्दार २० विद्यार्थीलाई नगद छात्रवृत्ति

-


     पोखरा क्लिक     
     माघ १५ गते २०८२ मा प्रकाशित


पोखरा, १५ माघ,

पोखरा महानगरपालिका–१७, बास्तोलास्थित जानकी माध्यमिक विद्यालय का विद्यार्थीलाई इक्रा शिक्षा फाउण्डेशन ले आर्थिक सहयोग प्रदान गरेको छ। फाउण्डेशनले विद्यालयका जेहेन्दार तथा विपन्न वर्गका २० जना विद्यार्थीलाई जनही ७ हजार रुपैयाँका दरले नगद सहयोग गरेको हो।

विद्यालयमा बिहीबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोला, इक्रा शिक्षा फाउण्डेशनका केन्द्रीय अध्यक्ष शेख जहागिर, विद्यालयका प्रधानाध्यापक कडेल लगायतले विद्यार्थीलाई नगद रकम हस्तान्तरण गर्दै प्राप्त रकमलाई सही र सदुपयोग गर्न आग्रह गरे। कार्यक्रममा प्रत्येक कक्षाबाट एक–एक जना विद्यार्थी चयन गरी आर्थिक सहयोग प्रदान गरिएको थियो। सहयोग पाएका विद्यार्थीहरूले उक्त रकम पुस्तक, शैक्षिक सामग्री तथा अध्ययनसम्बन्धी आवश्यकतामा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

हाल जानकी माध्यमिक विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयले विपन्न वर्गका विद्यार्थीलाई शिक्षामा निरन्तर जोडिराख्न यस्ता सहयोग कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ। यसैबीच, इक्रा शिक्षा फाउण्डेशनले पोखरा–१७, दोविल्लामा मदरसा ९विद्यालय० सञ्चालनका लागि आवश्यक जग्गा खरिद गरी भौतिक संरचना निर्माण कार्य अघि बढाइरहेको जानकारी दिएको छ। फाउण्डेशनका अध्यक्ष शेख जहागिरका अनुसार उक्त विद्यालयमा नेपाली, अंग्रेजीका साथै मुस्लिम भाषाको पनि पठन–पाठन गराइने व्यवस्था हुनेछ। यस प्रकारका सहयोग कार्यक्रमले शिक्षामा पहुँच विस्तार, विद्यार्थीको मनोबल वृद्धि र सामाजिक उत्तरदायित्वलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।