जेंजी आन्दोलनको मर्म बोकेर संसदतर्फ वैज्ञानिक कदम, कास्की–२ बाट स्वतन्त्र उम्मेदवार डा.निरञ्जन कोइराला घर दैलो कार्यक्रममा व्यस्त

-


     पोखरा क्लिक     
     माघ १४ गते २०८२ मा प्रकाशित


पोखरा,

जेनजी आन्दोलनको जगमा हुन लागेको आम निर्वाचनमा सबै दलले आफ्ना–आफ्ना उम्मेदवार मैदानमा उतारेका छन्। तर सहिद जेनजीले चाहेको कस्तो प्रतिनिधि भन्ने प्रश्नतर्फ कसैको ध्यान नपुगेको देख्दा जेनजी सहिदप्रति अन्याय र धोका भएको अनुभूति धेरैमा परेको छ। नयाँ अनुहार होइन, नयाँ सोच र नयाँ स्कुलिङ भएको नेतृत्व आवश्यक छ भन्ने आवाज यहीँबाट उठेको हो।

यही सन्दर्भमा, नेपालको विज्ञान, प्रविधि र अनुसन्धान क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाएका वैज्ञानिक डा. निरञ्जन कोइराला कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। दशकौँदेखि दलगत राजनीतिले जनताको अपेक्षा पूरा गर्न नसकेको निष्कर्षसहित उनी “विकास, नीति र इमानदारी”को नयाँ राजनीतिक अभ्यास सुरु गर्ने अठोटका साथ अघि बढेका हुन्। “आजको राजनीति सेवा होइन, सौदाबाजी बन्दै गइरहेको छ,” डा.कोइराला भन्छन्, “गुट, स्वार्थ र शक्ति केन्द्रित दलमुखी राजनीतिले देशलाई अघि बढाउन सकेन। अब संसदमा विज्ञान, तथ्य र नीतिमा आधारित निर्णय गर्ने स्वतन्त्र आवाज आवश्यक छ।”

विज्ञानबाट राजनीतितर्फ किन !

दक्षिण कोरियाको सनमुन युनिभर्सिटीबाट बायोकेमिस्ट्री (फार्मास्युटिकल) विषयमा सन् २०१६ मा पीएचडी पूरा गरेका डा. कोइरालाले मेक्सिको र चीनको मकाउ विश्वविद्यालयमा पोस्टडक्टोरल अनुसन्धान गरेका छन्। उनका अनुसन्धानहरू हालसम्म अन्तर्राष्ट्रिय समुदायमा ५,५०० भन्दा बढी पटक उद्धृत भइसकेका छन्। कोरियाली बौद्धिक सम्पत्ति कार्यालयबाट पेटेन्ट प्राप्त उनका कामले उनलाई विश्वस्तरको वैज्ञानिकका रूपमा स्थापित गरेको छ। यति अन्तर्राष्ट्रिय अवसर हुँदाहुँदै पनि उनले नेपालमै बसेर सेवा गर्ने बाटो रोजे। पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजमा विभागीय प्रमुखका रूपमा कार्यरत उनले कोभिड–१९ पछि गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानमा वैज्ञानिक तथा प्रवक्ताको भूमिका निर्वाह गरे। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका रिसर्च फेलो समेत रहेका उनी भन्छन्,
“नीति तहमा वैज्ञानिक सोच नपुगेसम्म देशले दीर्घकालीन फड्को मार्न सक्दैन।”

दल होइन, जनताप्रति उत्तरदायी राजनीति !

डा.कोइरालाको स्वतन्त्र उम्मेदवारी कुनै दलप्रतिको असन्तुष्टि मात्र होइन, जनताप्रति प्रत्यक्ष उत्तरदायी हुने प्रतिबद्धता हो।
“दलको ह्विपले होइन, जनताको विवेकले संसद चल्नुपर्छ,” उनको स्पष्ट भनाइ छ। उनले शिक्षा, स्वास्थ्य, रोजगारी, अनुसन्धान, नवप्रवर्तन, युवालाई देशमै रोक्ने नीति, प्राकृतिक स्रोतको वैज्ञानिक उपयोग, कृषि उत्पादन वृद्धि, जैविक ऊर्जा, जडीबुटी, पर्यटन र रोजगारीलाई प्राथमिक एजेन्डा बनाएका छन्। भ्रष्टाचार अन्त्य र सुशासनप्रति उनको प्रतिबद्धता चुनावी नारामै सीमित छैन, व्यवहारमै देखिने उनी बताउँछन्।

अन्तर्राष्ट्रिय सम्मान, तर सादगी जीवन !

नेपाल सरकारबाट नेपाल विद्याभूषण ‘ए’ पदक, विज्ञान तथा प्रविधि युवा पुरस्कार, भारतको युवा वैज्ञानिक पुरस्कार र सनमुन युनिभर्सिटीको डिन च्वाइस अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेका डा। कोइराला हालै स्ट्यानफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको सूचीमा समेत परेका छन्। तर उनी आफूलाई आज पनि “साधारण पोखरेली नागरिक”कै रूपमा प्रस्तुत गर्छन्। “मेरो शक्ति पद होइन, ज्ञान र इमान हो,” उनी भन्छन्।