कास्कीमा अनलाइन ठगी धन्दाले धेरै प्रभावित, करोडौं रुपैयाँ ठगि, सचेत रहन प्रहरीको आग्रह

-


     पोखरा क्लिक     
     माघ १३ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, १३ माघ,

मोबाइल चलाउँदा आएको एउटा सन्देश, अनलाइनमा देखिएको एउटा लोभलाग्दो अफर वा कसैले मागेको एउटा ओटीपीले तपाईँको वर्षौंको कमाइ एकैछिनमा गुम्न सक्छ । कास्कीमा पछिल्लो समय अनलाइन ठगीको ग्राफ तीव्र गतिमा उकालो लाग्दै जाँदा धेरै सर्वसाधारणदेखि शिक्षित, व्यापारी र कर्मचारीसम्म करोडौं रुपैयाँ गुमाउन बाध्य भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार चालु आर्थिक वर्षको हालसम्म अनलाइन ठगीसँग सम्बन्धित ६ सय ७ वटा उजुरी परेका छन्, जसमा करिब १९ करोड १९ लाख ५० हजार रुपैयाँभन्दा बढी ठगी भएको दाबी गरिएको छ । यो तथ्यांकले तपाईँको आर्थिक सुरक्षा अब केवल बैंक वा पसलमा सीमित नरही मोबाइल र इन्टरनेटसम्म फैलिएको स्पष्ट संकेत गर्छ ।

प्रहरीको भनाइमा, तपाईँलाई छिटो नाफा हुने, चिठ्ठा परेको, अनलाइन सपिङको बहाना बनाउने वा विदेशबाट आएको पार्सल भन्सारमा रोकिएको भन्दै पैसा झिक्ने गिरोह सक्रिय छन् । सामाजिक सञ्जाल र दर्ता नभएका एप्समार्फत हुने यस्ता ठगी नियन्त्रण गर्नु चुनौतीपूर्ण बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीका अनुसार तपाईँ ठगिनुको मुख्य कारण लोभ नै हो । “धेरैजसो घटना हेर्दा नपढेकाभन्दा पढेका मान्छे बढी फसेका छन्,” उहाँले भन्नुभयोे, “तपाईँले गरेको लगानी वा नाफाको कुरा छिमेकीलाई पनि नबताउँदा अन्ततः ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ ।”

प्रहरीले तपाईँलाई अनलाइन कारोबार गर्दा सतर्क रहन, अपरिचित व्यक्तिको कुरा विश्वास नगर्न र शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीमा जानकारी दिन आग्रह गरेको छ । तपाईँको सानो लापरबाहीले ठूलो आर्थिक संकट निम्त्याउन सक्छ भन्ने यथार्थ कास्कीका पछिल्ला तथ्यांकले प्रस्ट देखाएका छन् । पोखरामा हालै आयोजित एक कार्यक्रममा वोल्दै एसपी कार्कीले व्यक्तिका गोप्य फोटो र भिडियो सार्वजनिक गरिदिन्छु भन्दै धम्क्याउने र पटक–पटक पैसा असुल्ने प्रवृत्ति पनि उत्तिकै बढ्दो रुपमा रहेको दाबी गर्नुभयो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले अनलाइन ठगीबाट जोगिन प्रहरी–समुदाय हातेमालो र सचेतनामूलक कार्यक्रम आवश्यक रहेकोमा जोड दिनुभयो । पोखरा जेसिजका अध्यक्ष सुमन पहारीले लोभमा नफस्न र अनलाइन ठगीबाट जोखिन आफ्ना सूचनाहरु जोगाउन आग्रह गर्नुभयो ।