काठमाडौँमा हुने एभिएसन फुटसलको ट्रफी पोखराको आकाशमा अनावरण (भिडियो सहित)

-


     पोखरा क्लिक     
     माघ १० गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, १० माघ,

नेपाली एभिएसन खेलकुदको इतिहासमै पहिलो पटक नयाँ कीर्तिमान कायम गर्दै काठमाडौँमा आयोजना हुन गइरहेको गीता एभिएसन फुटसल सिजन–२ को ट्रफी पोखराको आकाशमै अनावरण गरिएको छ । पोखराको पामे क्षेत्रमा आयोजित विशेष ट्रफी रिभिल(सार्वजनिक) कार्यक्रममा आठवटै सहभागी टिमका कप्तानहरू हट एयर बलुन मार्फत आकाशमा उडान भरी ट्रफी सार्वजनिक गरिएको आयोजकले पोखराक्लिकलाई जनाएको छ ।

आगामी फेब्रुअरी १४ (फागुन २ गते) काठमाडौँमा आयोजना हुन गइरहेको एभिएसन फुटसल टुर्नामेन्टको पूर्वसन्ध्यामा गरिएको यस अनौठो तथा आकर्षक कार्यक्रमले प्रतियोगिताको गरिमा र पहिचानलाई थप उचाइमा पु¥याएको गीता एभिएसनका जनरल म्यानेजर अच्यूत गुरागाईं ले बताउनुभयो। यस प्रतियोगितामा हिमालयन एअरलाइन्स, बुद्ध एअरलाइन्स, यति एअरलाइन्स, हेलि एभरेस्ट, कैलाश हेलिकप्टर, फायर फाइटर टिम, मिड एयर बेस आर्मी तथा नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय को टिम सहभागि हुने जनरल म्यानेजर गुरागाईंले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ, उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै उत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट गोलरक्षकलाई २५ हजार र सर्वाधिक गोलकर्तालाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

कार्यक्रममा बोल्दै वेलुन नेपालका अध्यक्ष विक्रम बाडे ले काठमाडौँमा आयोजना हुन गइरहेको प्रतियोगिताको ट्रफी पोखराको आकाशमै हट एयर बलुनमार्फत सार्वजनिक गर्नु आफैंमा ऐतिहासिक रहेको बताउनुभयो। उहाँले हट एयर बलुन उडानले पोखरामा साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्नुभयो। पोखराको फेवाताल सिरान क्षेत्र, लौरुक तथा पामे क्षेत्रको आकाशमा विगत लामो समयदेखि विदेशी पाइलटको सहायतामा हट एयर बलुन उडान हुँदै आएको र यसले पर्यटन क्षेत्रलाई थप जीवन्त बनाएको उहाँको भनाइ थियो।

यस्ता रचनात्मक तथा ऐतिहासिक प्रतियोगिताले नेपाली एभिएसन र पर्यटन क्षेत्रलाई एउटै छातामुनि एकताबद्ध गर्दै खेलकुदमार्फत नयाँ पहिचान स्थापित गर्ने आयोजकको विश्वास छ । कार्यक्रममा प्रतियोगिताको मस्कटसमेत प्रदर्शन गरिएको थियो, जसले प्रतियोगितालाई स्पष्ट पहिचान र थप आकर्षण प्रदान गर्ने विश्वास गरिएको छ । हट एयर बलुन मार्फत सूर्योदय तथा सूर्यास्तको दृश्यावलोकनका लागि बिहान सामान्यतया लौरुकबाट बिहान ६ः३० बजे पहिलो उडान सुरु हुने गर्दछ। करिब आधा घण्टाको उडानमा यात्रुले ९ हजार फिट माथिबाट पोखरा उपत्यका र वरपरका हिमालहरूको दृश्यावलोकन गर्न सक्नेछन् ।

कार्यक्रममा सहभागिता जनाउँदै हिमालयन एअरलाइन्सका कप्तान अनिल थापाले गीता एभिएसनलाई धन्यवाद दिँदै पहिलो पटक पोखराको आकाशमा ट्रफी अनावरण हुनुले एभिएसन फुटसलको महत्व झनै बढेको बताउनुभयो। गत वर्षको विजेता भएकाले उपाधि जोगाउनु ठूलो चुनौती रहेको उहाँको भनाइ थियो। यसैबिच, ट्रफी सार्वजनिक कार्यक्रम सम्पन्न भएपछि सबै सहभागी टिमहरू अन्नपूर्ण केबलकार पुगेर ट्रफी टुर तथा प्रदर्शनमा सहभागी हुनु भएको थियो । आठवटै टिमलाई एउटै स्थानमा राखी अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको आयोजकले जनाएको छ । पोखरा साहसिक खेलकुद र पर्यटनको केन्द्र भएको अन्नपूर्ण केवलकारका जनरल म्यानेजर दिनेश पौडेलले बताउनु भयो ।