
दीननाथ बराल,
पोखरा, ९ माघ,
पोखरा–२९ भण्डारढिकमा रहेको आदर्श युवा क्लबको आयोजनामा आज (शुक्रबार) देखि २६ औँ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता २०८२ सुरु भएको छ । शुक्रबार भएको उद्घाटन खेलमा घरेलु टिम कास्की जिल्ला फुटबल संघ (कास्की ११) लाई पराजित गर्दै नेपाल प्रहरी गण्डकी प्रदेशको टोलीले टाईब्रेकरमा ५—३ को गोल अन्तरले पराजित गरेको हो ।
४५÷४५ मिनेटको निर्धारित समय मा दुबै तर्फ एक÷एक र थपिएको १०÷१० मिनेटको अतिरित्त समयमा दुबै तर्फ गोल हुन नसके पछि खेल टाईब्रेकरमा पुगेको हो । टाईब्रेकरमा कास्की ११ का विनय तामाङले प्रहार गरेको वल पोष्ट बाहिरबाट बाहिरिएसंगै पुलिसले सेमिफाइनलमा यात्रा बनाएको हो । खेलको ४४ औं मिनेटमा कास्की ११ का मनिस थापा मगरले गोल गरी टिमलाई अग्रता दिलाए पनि दोश्रो हापको १ मिनेटमै (खेलको ४६ औं मिनेटमा) प्रहरीका शुसिल लामाले उत्कृष्ट गोल गरी खेल बराबरीमा पुर्याउनु भएको हो । पुलिसको जितमा टाईब्रेकरमा केशर बराम, दुर्गा बोटे, मानबहादुर विष्ट, प्रशन्न श्रेष्ठ र शुसिल लामाले गोल गर्नुभयो । यता कास्की ११ का प्रिन्स गुरुङ, अंकित गुरुङ र कमल थिंङले टाईब्रेकरमा पेनाल्टी सुटमा गोल गरेका थिए ।
शनिबार आयोजक आर्दश युवा क्लब र वालिङ—स्याङजाको होराईजन क्लब बिच खेल हुने भएको म्याच कमिस्नर गोपाल थापाले बताउनु भयो । माघ १६ गतेसम्म भण्डारढिकको खेलमैदान (लेखनाथ रंगशाला) मा संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन फष्ट च्वाइस फुड्स लिमिटेडका प्रमुख कृष्णप्रसाद पौडेलले उद्घाटन गर्दै प्रतियोगितालाई सफल पार्न आफुरुले सहकार्य सहित प्रमुखप्रायोजन गरेको बताउनु भयो । प्रतियोगितामा आयोजक आदर्श युवा क्लब, कास्की, कास्की जिल्ला फुटबल संघ, तनहुँ जिल्ला फुटबल संघ, नेपाल प्रहरी (गण्डकी प्रदेश), सशस्त्र प्रहरी बल (मुक्तिनाथ बाहिनी मुख्यालय), म्याग्दी जिल्ला खेलकुद विकास समिति, गन्नी फुटबल क्लब (पर्वत) र होराइजन क्लब (वालिङ–स्याङ्जा) सहभागि हुने भएको क्लबका अध्यक्ष पदम गुरुङले पोखराक्लिकलाई बताउनु भयोे ।
प्रतियोगितामा विजेतालाई ४ लाख ९९ हजार ९ सय ९९ रुपैया नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ भने उपविजेतालाई ३ लाख ३३ हजार ३ सय ३३ रुपैया नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्र्रदान गरिने भएको सचिव सन्तोस गुरुङले बताउनु भयो । प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई २५ हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार नगद र ट्रफी प्रदान गरिनेछ । साथै प्रतियोगिताको अनुशासित टोलीलाई विशेष ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक सुद्धोधन ४ रुपन्देहीमा रहेको फष्ट च्वाइस फुड्स लिमिटेड रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ६१ लाख खर्च हुने सचिव सन्तोष गुरुङले पोखराक्लिकलाई बताउनु भयो । प्रायोजकमा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा सफल व्यवसायी छत्रधर आत्रेय, सह–प्रायोजक आदर्श हार्डवेयर, उप–प्रायोजक निट डेन्टल क्लिनिक र आईवा एजुकेसन कन्सल्टेन्सी रहेका छन्। यातायात खर्च प्रायोजकका रूपमा स्थानीय यातायात प्रा.लि. पोखरा रहेको छ । क्वार्टरफाइनल तथा सेमिफाइनल खेलको टिकट दर १०० र फाइनल खेलको टिकट दर २०० तोकिएको छ ।




