२६ औँ आदर्श कप शुक्रबारदेखि पोखरामा सुरु हुदै, उद्घाटन खेलमा कास्की ११ र नेपाल प्रहरी, गण्डकी बिच खेल हुने

-


     पोखरा क्लिक     
     माघ ८ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ८ माघ

पोखरा–२९ भण्डारढिकमा रहेको आदर्श युवा क्लबको आयोजनामा भोलि (शुक्रबार) देखि २६ औँ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । माघ १६ गतेसम्म भण्डारढिकको खेलमैदान (लेखनाथ रंगशाला) मा संचालन हुने प्रतियोगिताको उद्घाटन खेल भने कास्की ११ र नेपाल प्रहरी गण्डकी बिच खेल हुने भएको हो ।

उद्घाटन खेल शुक्रबार दिउँसो १२ः३० बजे पछि हुने भएको आयोजक आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले बताउनु भयो । प्रतियोगितामा दुई विभागीय टोली सहित आठ टिमको सहभागिता रहेको उहाँले जनाउनु भयो । प्रतियोगितामा आयोजक आदर्श युवा क्लब, कास्की, कास्की जिल्ला फुटबल संघ, तनहुँ जिल्ला फुटबल संघ, नेपाल प्रहरी (गण्डकी प्रदेश), सशस्त्र प्रहरी बल (मुक्तिनाथ बाहिनी मुख्यालय), म्याग्दी जिल्ला खेलकुद विकास समिति, गन्नी फुटबल क्लब (पर्वत) र होराइजन क्लब (वालिङ–स्याङ्जा) सहभागि हुने भएको क्लबका अध्यक्ष पदम गुरुङले बताउनु भयो । क्लवले खेल तालिका(टाई सिट) समेत शनिबार सार्वजनिक गरेको छ । माघ ९ गते हुने उद्घाटन खेलमा कास्की जिल्ला फुटवल संघ (कास्की ११) र नेपाल प्रहरी (गण्डकी प्रदेश ) बिच प्रतिष्प्रर्धा हुने भएको छ ।

प्रतियोगितामा विजेतालाई ४ लाख ९९ हजार ९ सय ९९ रुपैया नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ भने उपविजेतालाई ३ लाख ३३ हजार ३ सय ३३ रुपैया नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्र्रदान गरिने भएको हो । प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई २५ हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार नगद र ट्रफी प्रदान गरिनेछ । साथै प्रतियोगिताको अनुशासित टोलीलाई विशेष ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक सुद्धोधन ४ रुपन्देहीमा रहेको फष्ट च्वाइस फुड्स लिमिटेड रहेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ६१ लाख खर्च हुने सचिव सन्तोष गुरुङले बताउनु भयो । प्रायोजकमा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा सफल व्यवसायी छत्रधर आत्रेय, सह–प्रायोजक आदर्श हार्डवेयर, उप–प्रायोजक निट डेन्टल क्लिनिक र आईवा एजुकेसन कन्सल्टेन्सी रहेका छन्। यातायात खर्च प्रायोजकका रूपमा स्थानीय यातायात प्रा.लि. पोखरा रहेको छ । क्वार्टरफाइनल तथा सेमिफाइनल खेलको टिकट दर १०० र फाइनल खेलको टिकट दर २०० तोकिएको छ ।