पोखरामा फोहोर नउठ्दा सहरमा दुर्गन्ध फैलिन सुरु

-


     पोखरा क्लिक     
     माघ ४ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा–४, माघ,

पोखराका सडक, चोक र पेटीछेउ हिँड्दा के तपाईलाई कुनै दुर्गन्ध फैलिएको जस्तो महसुस गरि रहेका छौं हो, त्यसको कारण पछिल्ला ८–९ दिनदेखि फोहोर नउठ्नु नै हो । सहरका मुख्य चोकदेखि भित्री टोलसम्म सडकैभरि फोहोरको थुप्रा देखिन थालेपछि पोखराको वातावरण दिनदिनै असहज बन्दै गएको स्थानीयले पोखराक्लिकलाई बताएका छन् ।

पोखरा महानगरपालिकाको वडा नम्बर ३२, लामेआहालमा रहेको अस्थायी ल्यान्डफिल साइट भरिएपछि पुसको अन्तिम सातादेखि त्यहाँ फोहोर लैजान बन्द गरिएको थियो । तर त्यसपछि वैकल्पिक व्यवस्था नहुँदा सहरभरि फोहोर उठ्न सकेको छैन । नतिजा, फोहोर सडकछेउ, पेटी साइड र चोक–चोकमै थुप्रिन थालेको छ । स्थानीयका अनुसार फोहोर थुप्रिएसँगै दुर्गन्ध फैलिन थालेको छ, जसले बजार क्षेत्र, बसपार्क र आवासीय क्षेत्रमा बसोबास गर्नसमेत कठिन बनाएको छ । “यतिखेर बिहान बेलुका हिँड्नै गाह्रो भएको छ,” एक स्थानीयले भने, “फोहोरकै कारण सहरको सुन्दरता पनि बिग्रँदै गएको छ ।”

यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि वडा नम्बर १४, बाच्छेबुडुवामा रहेको पुरानो ल्यान्डफिल साइट बन्द गरिएको थियो । त्यसयता महानगरले लामेआहाललाई अस्थायी रूपमा प्रयोग गर्दै आएको थियो । तर अब त्यो स्थल पनि भरिएपछि स्थायी ल्यान्डफिल साइटको अभाव झन् गम्भीर रूपमा देखिएको छ । महानगरपालिकाको सरसफाइ महाशाखा प्रमुख हर्क गायकका अनुसार लामेआहालको अस्थायी ल्यान्डफिल साइट भरिएकै कारण पुस २७ गतेदेखि फोहोर सडकमै थुप्रिन थालेको हो । उहाँ भन्नुहुन्छ, “वैकल्पिक स्थान नहुँदा फोहोर संकलन प्रभावित भएको छ ।”

पोखरा महानगरमा दैनिक करिब दुई सय टन फोहोर उत्पादन हुने गरेको छ । वडा नम्बर ३३ मा आधुनिक फोहोर प्रशोधन केन्द्र बनाउने योजना भए पनि स्थानीय विवादका कारण अझै कार्यान्वयनमा आउन सकेको छैन । यसैबीच, पोखरा महानगरपालिकाले एक सूचना जारी गर्दै फोहोर व्यवस्थापनमा केही समयका लागि व्यवधान उत्पन्न भएको जनाएको छ । समाधान नआएसम्म सार्वजनिक स्थल, सडक, चोक, बसपार्क, ताल–पोखरी र नदी किनारमा फोहोर नफाल्न महानगरले नगरबासीलाई आग्रह गरेको छ ।

महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीका अनुसार समस्याको समाधानका लागि निरन्तर प्रयास भइरहेको छ । शहरी विकास, पर्यटन तथा वातावरण महाशाखाले सम्भव भएसम्म कुहिने र नकुहिने फोहोर घरमै छुट्याउन अनुरोध गरेको छ । नकुहिने फोहोर सुरक्षित रूपमा जम्मा गर्न र कुहिने फोहोरलाई वैकल्पिक रूपमा व्यवस्थापन गर्न सबैको सहकार्य आवश्यक रहेको महानगरको भनाइ छ । सरसफाईका केही कर्मचारीले फोहोरलाई सडक पेटिमै व्यबस्थापन गर्ने दुगन्ध भएको फोहोरलाई अर्को फोहोरले ढाक्ने छोप्ने अबरु वोरामा राखेर मिलाउने काम समेत हुन थालेको छ ।