
दीननाथ बराल,
पोखरा ३०, पुस
पछिल्लो समय डिजिटल माध्यम र सामाजिक सञ्जालको तीव्र प्रयोगसँगै समाजमा मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रचार–प्रसार बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न सरोकारवाला सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्नेमा बुधबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन्। प्रेस रजिष्ट्रारको कार्यालयको आयोजनामा बुधबार पोखरामा आयोजना भएको “भ्रमपूर्ण तथा मिथ्यापूर्ण सूचना सम्बन्धी सरोकारवाला बीच सचेतना तथा अन्तरक्रिया”कार्यक्रममा सहभागि हुने सरोकारवालाहरुले समय सापेक्ष आएका डिजिडल माध्यम र सामाजिक सञ्जालको शहि प्रयोग र त्यसलाई नियन्त्रण गर्न सबै पक्ष जिम्मेवार हुनैपर्नेमा जोड दिएको थियो ।
कार्यक्रममा सहभागी सरोकारवाला निकायका पदाधिकारीहरूले डिजिटल प्रविधि र सामाजिक सञ्जालका कारण नकरात्मक सन्देशको प्रचारबाजी बढेको उल्लेख गर्दै यसले समाजमा भ्रमपूर्ण वातावरण सिर्जना गरिरहेको दाबी गर्नुभयो । तथ्य पुष्टि नगरी सामाजिक सञ्जालमा आएको सूचनाको आधारमा छिटो समाचार सम्प्रेषण गर्ने प्रवृत्तिका कारण मूलधारका मिडियाबाट समेत कहिलेकाहीँ मिथ्या सूचना प्रवाह हुने गरेकोप्रति ध्यानाकर्षण समेत गराइएको थियो । वक्ताहरूले कुनै पनि घटनाबारे समाचार सम्प्रेषण गर्दा सतही सूचनामा भर नपरी वास्तविक तथ्य, भू–धरातलको अवस्था र विवादित पक्षलाई बुझेर सन्तुलित ढंगले समाचार प्रकाशन तथा प्रशारण गर्न आग्रह समेत गर्नु भएको छ । पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार पत्रकारिताबाट मात्रै समाजमा फैलिँदै गएको भ्रम र मिथ्या सूचना नियन्त्रण गर्न सकिने निष्कर्ष रहेको गण्डकी प्रेस रजिष्टार विमला भण्डारीले बताउनु भयो ।
यसैबिच, उक्त कार्यक्रममा सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले डिजिटल युगमा सूचना व्यवस्थापन सबैभन्दा ठूलो चुनौती बनेको उल्लेख गर्नुभयो । उहाँले समाजमा सकारात्मक सोच र सही सूचना प्रवाहका लागि मिडिया, सरकार र नागरिक सबैले आ–आफ्नो भूमिकामा जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो । मन्त्री थापाले मिथ्या र भ्रमपूर्ण सूचनाविरुद्ध सचेतना अभिवृद्धि गर्ने यस्ता कार्यक्रमलाई प्रदेश सरकारले समेत प्राथमिकताका साथ समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गण्डकी प्रदेश सरकारले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्दै आएको उहाँले उल्लेख गर्नुभयो । न्युमिडिया र युट्युब पत्रकारितामा संलग्न युवाहरूलाई विशेष सम्बोधन गर्दै उहाँले क्यामेरा र मोबाइल ठूलो शक्ति भएकाले त्यसको उचित ढंगले प्रयोग गर्न आग्रह गर्नुभयो । गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे, सचिव कृष्ण लम्साल, कास्कीका प्रमुख जिल्ला अधिकारी रुदादेवी शर्मा, न्यूनतम पारिश्रमिक समितिका सदस्य बासु मिश्र, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव प्रसाद बराल, गैरसरकारी संस्था महासंघ कास्कीकी अध्यक्ष इन्दिरा पौडेल, वक्ताहरूले यस्ता सचेतनामूलक कार्यक्रम तल्लो तहदेखि राजनीतिक दलका नेतृत्व तहसम्म अझ बढी आवश्यक रहेको बताउनु भएको थियो ।
कार्यक्रममा अनुजा काण्ड, ऋतिक रोशन काण्ड, एमालेको अधिवेशनमा सहभागी भएको भनिएको एआईबाट तयार गरिएको फोटो जस्ता उदाहरण उल्लेख गर्दै सामाजिक सञ्जालमा फैलिएका गलत सूचनाका कारण मिडिया समेत चुक्ने अवस्था आएको चर्चा गरिएको थियो। यसबाट पाठ सिक्दै आगामी दिनमा तथ्यपरक र जिम्मेवार पत्रकारितामा जोड दिनुपर्नेमा वक्ताहरूको समान धारणा थियो। कार्यक्रममा स्रोत विज्ञका रूपमा सेन्टर फर मिडिया रिसर्च नेपालका प्रमुख उज्जवल आचार्यले नेपालमा भ्रमपूर्ण र मिथ्यापूर्ण सूचनाको परिचय, अवस्था र बहुआयामिक प्रभाव विषयमा प्रस्तुतीकरण गर्दै डिजिटल साक्षरताको अभावले समस्या जटिल बन्दै गएको बताउनु भयो । बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवती सापकोटाले भ्रमपूर्ण तथा मिथ्यापूर्ण सूचना प्रवाह र मिडियाको भूमिका विषयमा प्रस्तुति दिँदै मिडियाले स्व–नियमन र तथ्य परीक्षणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । गण्डकी प्रेस रजिष्ट्रार विमला भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरूले मिथ्या सूचना नियन्त्रणका लागि राज्य, मिडिया, नागरिक समाज र आम नागरिकबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनु भएको थियो ।





