राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र खेलकुदकर्मीद्वारा सहारा एकेडेमीको अवलोकन

-


     पोखरा क्लिक     
     पौष २७ गते २०८२ मा प्रकाशित


पोखरा, २७ पुस,

पोखरा महानगरपालिका–१७ दोभिल्लामा रहेको सहारा एकेडेमीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तथा विभिन्न खेलकुदकर्मीहरूले अध्ययन तथा अवलोकन गर्नुभएको छ। पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेसा गोवर्धनसहितको खेलाडी टोलीले सहारा एकेडेमीको स्थलगत अवलोकन गर्दै त्यहाँ सञ्चालन भइरहेको शैक्षिक तथा खेलकुद गतिविधिबारे जानकारी लिएको सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताउनुभयो।

अवलोकन टोलीलाई सहारा क्लबले औपचारिक स्वागत गरेको थियो। यस क्रममा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ, पूर्व अध्यक्ष विक्रम थकाली, वीरभद्र आचार्यलगायतले आगन्तुक खेलकुदकर्मीहरूलाई सहारा एकेडेमीको उद्देश्य, सञ्चालन प्रक्रिया र उपलब्धिबारे जानकारी गराउनुभएको थियो। अध्यक्ष थापाका अनुसार सहारा एकेडेमीमा हाल १६ जिल्लाबाट आएका गरिब तथा विपन्न परिवारका ३० जना बालक अध्ययनरत छन्। उनीहरूलाई आवास, शिक्षा र खेलकुद प्रशिक्षणको समन्वित व्यवस्था गर्दै भविष्यका सक्षम खेलाडी र जिम्मेवार नागरिक उत्पादन गर्ने लक्ष्यका साथ एकेडेमी सञ्चालन हुँदै आएको उहाँले बताउनुभयो।

अवलोकन कार्यक्रममा ओलम्पियन तेक्वान्दो खेलाडी संगीना वैद्य, नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहाल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, खेलपत्रकार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।सहारा क्लब २०५५ सालमा स्थापना भई २०५८ सालदेखि बालक छनोट गरी आवासीय कार्यक्रम सुरु गरिएको हो। २०६१ सालमा दोस्रो चरणको छनोट, २०६३ सालमा २६ रोपनी जग्गा प्राप्ति तथा २०६९ सालमा एकेडेमी भवन निर्माण सम्पन्न गरिएको क्लबले जनाएको छ।

यसैबीच, सहारा क्लबले यस वर्ष २५औँ आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको क्लबका महासचिव गंगाराम पौडेलले जानकारी दिनुभयो। प्रतियोगिताले पोखराको खेलकुद प्रवर्धनसँगै सहारा एकेडेमी सञ्चालनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उहाँको भनाइ छ।