कांग्रेसबाट मन्त्री बनेका कुमार खड्कासहित एमालेका नेता रास्वपामा प्रवेश(भिडियो सहित)

-


     पोखरा क्लिक     
     पौष १९ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १९ पुस,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले रास्वपा अब ‘म्याजिक नम्बर’ को गणनाभन्दा माथि उठेर जनताको जनमतसहित स्पष्ट बहुमतको रणनीतिमा अघि बढिसकेको बताउनु भएको छ । आज (शनिबार) पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सदस्य भेला तथा बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले संसदमा सीमित संख्यामा रहँदाको अनुभवले रास्वपालाई निर्णायक शक्ति बन्नैपर्ने निष्कर्षमा पुर्‍याएको बताउनुभयो ।

आगामी निर्वाचनमा प्रतिनिधिसभामा १५१ सिट जितेर मुलुकलाई नयाँ दिशामा लैजाने लक्ष्यसहित पार्टी अघि बढेको उहाँको भनाइ थियो । “२७५ सदस्यीय संसदमा २१ सांसद भएर काम गर्दा भोग्नुपरेको पीडाले अब स्पष्ट बहुमतको विकल्प नरहेको बोध गराएको छ,” उहाँले भन्नुभयो, “अब ५०–६० सिटमा सीमित हुने होइन, देशको नेतृत्व गर्ने तयारीमा छौं ।”

उपसभापति वाग्लेले विगत ७० वर्षमा ठूला दलहरूले पाएका अवसर आन्तरिक द्वन्द्व र शक्ति संघर्षका कारण गुमाएको उल्लेख गर्दै रास्वपाले ती कमजोरीबाट सिकेर उन्नत र सुसंस्कृत राजनीतिक अभ्यास गर्ने संकल्प लिएको बताउनुभयो । पार्टी विस्तारका क्रममा केवल ‘अर्गानिक’ मात्र नभई विशाल र बलियो संगठन निर्माण आवश्यक रहेको उहाँको धारणा थियो ।कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, एमालेका नेता तथा पर्यटन व्यवसायी पुष्प अधिकारी र कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा एकैसाथ रास्वपामा प्रवेश गर्नुभएको छ । रास्वपा उपसभापति डा। स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा लगायतका नेताहरूले उहाँहरूलाई औपचारिक रूपमा स्वागत गर्नुभयो ।

कांग्रेसबाट निष्कासनमा परेपछि खड्का रास्वपामा प्रवेश गर्नुभएको हो । उहाँ संघीय सरकार र गण्डकी प्रदेशमा मन्त्री भइसकेका नेता हुनुहुन्छ । यस्तै, व्यवसायी मिलन थापा र एमालेका नेता पुष्प अधिकारीको प्रवेशसँगै गण्डकीमा रास्वपाको अभियान थप सशक्त बन्दै गएको देखिएको छ ।