
पोखरा, १८ पुस,
पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयको ४७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह बिहीबार सम्पन्न भयो ।
वार्षिकोत्सव उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले विद्यालयलाई समग्र पोखरा क्षेत्रकै गर्व लायक शैक्षिक संस्थाको संज्ञा दिर्दै त्यसको पुष्टी विद्यालय प्रति अभिभावकको विश्वास एवम् विद्यार्थी आकर्षणले दिएको बताए।प्रमुख आचार्यले पातले छागोका विषयमा विद्यालय र महानगर बीच भएको सहमति कार्यान्वयन हुने विश्वास दिलाउँदै उक्त सम्झौता विद्यालय हितमा भएको पनि स्पष्ट पारे।
वडाध्यक्ष राधिका शाही योगीले छोरेपाटन नमूना शैक्षिक संस्था रहेका उल्लेख गर्दै विद्यार्थी आकर्षण सबैभन्दा सबल पक्ष रहेको सुनाइन्।उनले महानगरको शिक्षा विनियम अनुसार नै छोरेपाटनमा विद्यालय व्यवस्थापन समिति गठन भएको स्पष्ट पार्दै विद्यालयले वेजुरु घटाउँदै जानुपर्ने धारणा राखिन्। पूर्व वडाध्यक्ष तीर्थराज अधिकारीले विद्यालय निर्माण गर्न एकमत भएर अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गरे।
विद्यालय अध्यक्ष सागर अधिकारीले सरोकारवाला सबैलाई समेटेर लैजाने विश्वास दिलाउँदै छिट्टै विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिइने उल्लेख गरे । प्रधानाध्यापक डिल्लीराम शर्माले विद्यालयले फड्को मार्दै गइरहेको औँल्याउँदै ४ वर्षमा गण्डकीकै तथा ९ वर्षमा देशकै उत्कृष्ट विद्यालय निर्माण गर्ने दीर्घकालिन योजनाका साथ हाल विद्यालय आगाडि बढिरहेको सुनाए। त्यस अवसरमा वडा सदस्य विक्रम गुरुङ, पूर्व सदस्य खेमराज आचार्य, भूपू विद्यार्थी मञ्चका अध्यक्ष सालिकराम भण्डारी, शिक्षक भोजराज बराल, विद्यार्थीहरु रचना ढकाल, सोहन कार्की लगायतले पनि भनाइ राखे।उनीहरुले छोरेपाटन गर्व लायक शैक्षिक संस्था रहेको सुनाउँदै सरोकारवाला सबैको सद्प्रयासबाट मात्रै त्यो सम्भव भएको उल्लेख गरे।
विद्यालयका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहायक प्रधानाध्यापक खेमराज बरालले स्वागत, शिक्षक अभिभावक संघ अध्यक्ष इन्द्रबहादुर खत्रीले धन्यवाद ज्ञापन एवम् सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले कार्यक्रम संचालन गरे। कुल २ हजार एक सय ६ विद्यार्थी रहेको विद्यालयमा हाल एक सय १० जना शिक्षक कर्मचारी कार्यरत छन् ।यसैबीच विद्यालयको वार्षिकोत्सवको अवसरमा जुनियर रेडक्रस सर्कलको आयोजनामा बिहीबारै भएको रक्तदान कार्यक्रममा कुल २९ प्रिन्ट रगत संकलन भएको छ। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखाको समन्वय तथा रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहयो।
जुनियर रेडक्रस सर्कल अध्यक्ष सुवाश सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षक नायक युवराज सुवेदीले स्वागत तथा जुरेस उपाध्यक्ष सुभानी पौडेल तथा सचिव अनुष्का ढकालले कार्यक्रम संचालन गरे। विद्यालयले वार्षिकोत्सवको अवसरमा वि.स २०६४ सालदेखि वर्षैपिच्छे रक्तदान आयोजना गर्दै आइरहेको छ।




