
पोखरा, १६ पुस,
पोखरा महानगरपालिका–१७ स्थित महतगौडामा रहेको जानकी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा हरिप्रसाद बास्तोला सर्वसम्मत निर्वाचित भएका छन् । विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको एक भेलाले बास्तोलालाई आगामी कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।
वडा अध्यक्ष तथा वडा शिक्षा समितिका अध्यक्ष राधिका कुमारी शाही योगीको उपस्थितिमा गठन गरिएको नयाँ समितिमा सदस्यहरूमा सिता काफ्ले भण्डारी, देवीलाल शर्मा भण्डारी, मना श्रेष्ठ र नर्मदा केसी रहेका छन् । विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी प्रचलित व्यवस्थाअनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकको भेलाबाट तीन जना सदस्य चयन हुने प्रावधान छ । त्यस्तै वडा शिक्षा समितिबाट दुई जना, विद्यालयका प्रधानाध्यापक, वडाअध्यक्ष वा तोकिएको एक जना जनप्रतिनिधि, शिक्षक प्रतिनिधि, शिक्षक अभिभावक संघका अध्यक्ष र एक जना शैक्षिक व्यक्तिसहित नौ सदस्यीय समिति रहन्छ ।
नवनिर्वाचित समितिलाई बधाई दिँदै वडा अध्यक्ष शाहीले विद्यालयको शैक्षिक गुणस्तर उकास्न व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्य अपरिहार्य भएको बताइन् । पोखरा महानगरपालिकाको पहलमा विद्यालयमा सञ्चालित अटिजम कक्षा निरन्तरताका लागि सबै पक्षको साथ आवश्यक हुनेमा उनले जोड दिइन् । सो अवसरमा प्रधानाध्यापक अजन कडेलले विद्यालयको वर्तमान शैक्षिक तथा भौतिक गतिविधिबारे जानकारी गराएका थिए । यसैगरी वडा शिक्षा समितिको प्रतिनिधिका रूपमा वडा सदस्य शिवराम भण्डारीलाई तोकिएको जनाइएको छ ।




