
पोखरा, ७ पुस,
पोखरा महानगरपालिका–१३ स्थित भद्रकाली माध्यमिक विद्यालयलाई सत्य युवा क्लव बि १३ले आइतवार भौतिक तथा शैक्षिक सामग्री सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत समितिले आइतबार विद्यालयलाई एक लाख ५३ हजार रुपैयाँ बराबरका सामग्री हस्तान्तरण गरेको हो ।
विद्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बीच समितिले ५ सिटे सोफा सेट १ थान, प्लास्टिकका कुर्सी ७० थान, मेटलका कुर्सी १० थान तथा अफिस टेबल र कुर्सी १÷१ थान प्रदान गरेको छ । उक्त सामग्रीहरू समितिका अध्यक्ष हितमान गुरुङ, उपाध्यक्ष रोशन गुरुङ र सचिव महेश आचार्यलगायतका सदस्यहरूले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक यदुराज पगेनीलाई हस्तान्तरण गरेका हुन् ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै समितिका अध्यक्ष हितमान गुरुङले शिक्षा क्षेत्रको विकासमा समुदायको भूमिका महत्वपूर्ण हुने बताए । उनले यस वर्ष आयोजना गरिएको ’म्युजिकल फेस्ट–२०२५’ बाट बचत भएको रकम विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सहयोग गर्न पाउँदा खुसी लागेको भने । । अध्यक्ष गुरुङले आगामी दिनमा पनि विद्यालयसँग सहकार्य गर्दै सामाजिक सेवामा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी समितिका उपाध्यक्ष रोशन गुरुङ र सचिव महेश आचार्यले शिक्षा नै समाजको दिगो विकासको आधार भएको भन्दै विद्यालयलाई आवश्यक सहयोग गर्नु समितिको मुख्य उद्देश्य रहेको प्रष्ट पारे । सहयोग ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक यदुराज पगेनीले सत्य युवा क्लव बि १३ प्रति हार्दिक आभार व्यक्त गरे । प्राप्त सहयोगले विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधि सञ्चालनमा सहजता थपिने बताउँदै उनले समितिको यो कार्य प्रशंसनीय र उदाहरणीय रहेको उल्लेख गरे ।
प्रधानाध्यापक पगेनीले विद्यालय र समुदायबीचको सहकार्यले मात्र गुणस्तरीय शिक्षा सम्भव हुने भन्दै भविष्यमा पनि यस्तै सकारात्मक सहयोगको अपेक्षा राखको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिनबहादुर साउदले पोखरापत्रलाई वताए । सोही दिन विद्यालयमा वार्षिक खेलकुद २०८२ कार्यक्रम शुरु भएको छ । वार्षिक खेलकुदमा फुटबल, भलिबल, बास्केटबल, म्याराथन, टेबल टेनीस, टक अफ वार लगायतका कार्यक्रममा समावेश गरिएको छ । पहिलो दिन बास्केटबल, भलिवल खेलहरु सुरु भएका छन् ।