
दीननाथ बराल,
पोखरा, ४ पुस,
पोखरा ३१ का आशिष परियारले आफ्नै हजुर आमाको हत्या गरेका छन् । पोखरा महानगरपालिका–३१ बाँसपानी निवासी ७५ वर्षीया दालकुमारी परियार (हजुर आमा) लाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा २२ बर्षीय आशिषलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
विहिबार करिब १२ः२० मा हजुर आमालाई धारिलो हतियार प्रहार गरी मृतकको कान काटी कानमा लगाएको सुनको गरगहना लुटेर अभियुक्त फरार भएकोले उनलाई हिजै(विहिबार) पोखराको अम्मरसिंहचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले बताउनु भयो । पक्राउ परेका परियारलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सात (७) दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको उहाँले जनाउनु भयो । प्रहरीले अभियुक्तको साथबाट सुनजस्तो देखिने पहेँलो रङका कानमा लगाउने रिङ दुई थान, साना मुन्द्रा चार थान (डिजिटल तराजुमा तौल गर्दा ७२ लाल) तथा घटनामा प्रयोग भएको बन्चरो एक थान र चक्कु एक थान बरामद गरेको प्रहरीले उल्लेख गरेको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । आशिषले केही समय अघि देखि हजुर आमासंग अंश माग्दै आएको श्रोतको भनाई छ । अंश माग्दै गर्दा सामान्य भनाभन भए पछि मादक पदार्थ सेवन गरी उहाँले हजुर आमालाई हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनाको सूष्म अनुसन्धान गर्दै जाँदा उक्त घटनामा मृतककै नाती २२ वर्षीय आशिष परियार संलग्न रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।
यसैबिच, सुनको गर गहना चोरीको आरोमा कास्कीको माछापुच्छ«े गाउँपालिकाबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्कीमा एक बृद्धा महिलाको सुन चोरी गर्ने ५ जनालाई गरिएको प्रहरीले पोखराक्लिकलाई जनाएको छ । कास्कीको माछापुच्छ्रे« गाउँपालिका–६ ठुलोकुना क्षेत्रमा ८२ वर्षीया वृद्धा महिला बाटोमा हिँडिरहेको अवस्थामा अपरिचित व्यक्तिहरूले एक्कासी दुवै कानमा लगाएको सुनको रिङ लछारपछार गरी चोरी गरेर फरार भएका थिए । पुस १ गते अपराह्न करिब ३ः४० बजे माछापुच्छ्रे गाउँपालिका–६ ठुलोकुना क्षेत्रमा सुन चोरी भागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मादी गाउँपालिका–६ तप्राङ स्थायी घर भई हाल पोखरा महानगरपालिका–१ भिमकालीपाटन बस्ने २१ वर्षीय सुशील नेपाली, पोखरा महानगरपालिका–२३ घर भई हाल भिमकालीपाटन बस्ने २७ वर्षीय आशिष नेपाली सुनार, पोखरा महानगरपालिका–२३ बस्ने १८ वर्षीय विजय पराजुली, २१ वर्षीया अस्मिता नेपाली तथा मुस्ताङ थासाङ गाउँपालिका–२ स्थायी घर भई हाल पोखरा महानगरपालिका–१ वाघबजार बस्ने ५३ वर्षीय तुलबहादुर विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेका पाँचै जनालाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा पाँच (५) दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी बस्नेतले बताउनु भयो ।




