
दीननाथ बराल,
पोखरा १३, मंसिर
पोखरा महानगरपालिका–४ गणेशटोलमा शनिबार यःमरी पूर्णिमाको अवसरमा यःमरी महोत्सव सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं. ४ को आयोजनामा तथा नेवाः मिसा पुचः कास्कीको समन्वयमा आयोजित महोत्सवको उद्घाटन गर्दै पोखराका मेयर धनराज आचार्यले पोखरा प्रकृति, संस्कृति र साहसिक खेलकुदको केन्द्रको रुपमा रहेकोले यस्ता मेला महोत्सवले पर्यटन प्रबद्र्धन हुने बताउनु भयो ।
मेयर आचार्यले पोखराको नालामुख क्षेत्रलाई ऐतिहासिक सम्पदा क्षेत्रका रूपमा विकास गर्ने विशेष योजना अघि बढाइएको बताउनु भयो । उहाँले भन्नुभयो “पोखराको नालामुख क्षेत्र पुराना घर तथा ऐतिहासिक बस्तीहरुको जीवित संग्रहालय हो। यसलाई संरक्षण गरी पोखराको हेरिटेजका रूपमा विकास गर्छौं,” सबै जातजाति, भाषा तथा संस्कृतिको संरक्षण गर्नु हाम्रो कर्तव्य हो । ” एडिबिसंग नालामुख क्षेत्रको पुराना घर सहितको बस्ती संरक्षणमा बिषेश कार्ययोजना संचालनको तयारी भएको उहाँले जनाउनु भयो ।
नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले एडिबीमार्फत संरक्षण प्रक्रिया अघि बढाइँदा कानुनी जटिलताका कारण केही पुराना घरहरू भत्किन थालेको भन्दै प्रभावित घर धनीलाई राहत तथा आवश्यक सहुलियत दिन महानगरसँग माग गर्नुभयो । नालामुख क्षेत्रमा रहेका १४ मध्ये केही घर तत्काल संरक्षण आवश्यक पर्ने अवस्थामा पुगेको उहाँले जनाउनु भयो । “पोखरा–४ कला र संस्कृतिले धनी वडा भएकाले नेवारी समुदायको पहिचानसँग जोडिएको परिकार यःमरीको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको हो,” पालिखेले भन्नुयो ।
पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले वडाले कला, संस्कृति र पुरातात्त्विक बस्ती संरक्षणलाई प्रमुख प्राथमिकताका साथ अघि बढाइरहेको बताउनु भयो । “विकास केवल भौतिक पूर्वाधार निर्माण मात्र होइन, मौलिक कला र संस्कृतिको संरक्षण पनि उत्तिकै महत्वपूर्ण पक्ष हो,” उहाँको भनाई थियो ।
महोत्सवमा यःमरी बनाउने प्रतियोगिता, लाईभ डेमो, यःमरी प्रदर्शनी तथा विभिन्न नेवारी परिकारहरूको बिक्री गरिएको नेवाः मिसा पुचः कास्कीकी अध्यक्ष संगीता बज्राचार्यले बताउनु भयो । यःमरीका साथै नेपाली पिज्जा, बारा, सेलरोटी, समयबजी लगायतका परिकारका स्टलहरू रहेका थिए ।
महोत्सवको उद्घाटन हुनु भन्दा केही समय अघि नालामुख संरक्षणको सन्देश सहितको ¥याली निकालिएको थियो । उक्त प्रभात—फेरी पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक हुँदै गणेशटोल पुगेर उद्घाटन समारोहमा परिणत भएको थियो ।





