
दीननाथ बराल,
पोखरा, ९ मंसिर,
पोखरामा आगामी मंसिर १७ गतेदेखि २२ गतेसम्म ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक–२०८२ सञ्चालन हुने भएको छ। पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा हुने यो ६ दिने महोत्सवमा करिब १ सय २० वटा विभिन्न व्यवसायिक, सेवा–मूलक र सूचना–प्रविधिमूलक स्टल रहने आयोजकले जानकारी दिएको हो ।
जेनजी आन्दोलनपछि कमजोर बनेको पोखराको आर्थिक गतिविधि सुदृढ बनाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने संघका अध्यक्ष तथा मेला संयोजक गोकर्ण कार्कीले मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । उनका अनुसार डोम तर्फ मात्र ७८ स्टल रहनेछन्। पर्यटन क्षेत्र चलायमान नहुँदासम्म पोखराको आर्थिक जीवनशैली प्रभावित हुने उल्लेख गर्दै उनले मेलाले शहरको बजार चलायमान बनाउन सहयोग पुर्याउने बताए।
यस वर्षको मेलामा नेपाल मणिपाल शिक्षण अस्पताल मुख्य प्रायोजकका रूपमा सहभागी भएको छ। महोत्सवमा औद्योगिक उत्पादन, कृषिजन्य सामग्री, हस्तकला, घरायसी सामानदेखि लिएर अत्याधुनिक डिजिटल प्रविधि, सफ्टवेयर, ग्याजेट र नवप्रवर्तनसम्बन्धी सामग्रीको प्रदर्शनी–बिक्री गरिनेछ। क्यान इन्फोटेक समावेश भएकाले नवतम सूचना–प्रविधि नै मेलाको मुख्य आकर्षण बन्ने अनुमान गरिएको छ।
गण्डकी प्रदेशको कला–संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि यसपटक मेलामा स्थानीय सांस्कृतिक प्रस्तुति जोडिएको पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले बताएका छन्। मेला अवधिभर उद्यमशीलता, लगानी–मैत्री नीति, नवप्रवर्तन तथा समसामयिक विषयमा विभिन्न परिसंवाद तथा छलफल कार्यक्रम सञ्चालन हुनेछ। आयोजकका अनुसार मेलाबाट करिब ५० लाख रुपैयाँ आम्दानी र ४५ लाख खर्च हुने अनुमान गरिएको छ।
यस वर्ष स्टल संख्या केही घट्नुका कारणबारे जानकारी दिँदै महासचिव शोभा गौतमले पोखरा महानगरपालिकाले प्रदर्शनी केन्द्रभित्र अपसाइक्लिङ तथा रि–साइक्लिङ पूर्वाधार निर्माण गरिरहेका कारण स्थल केही संकुचित बनेको बताइन्। निर्माण सम्पन्न भई केन्द्रको व्यवस्थापन पुनः संघलाई आएपछि आगामी वर्ष स्टल संख्या र अवधिमा वृद्धि गरिने उनले स्पष्ट पारिन्।
क्यान–कास्कीका अध्यक्ष पुरुषोत्तम कुवंरले मेलामा सूचना–प्रविधिका हार्डवेयर र सफ्टवेयर प्रदर्शनीसँगै परामर्श सेवा, विभिन्न प्रतियोगिता, बी–टु–बी कार्यक्रम तथा स्कुल–कलेज लक्षित स्टल राखिने जनाए। सार्वजनिक सहभागिता बढाउन मेलामा प्रवेश निःशुल्क राखिएको संघले पोखराक्लिकलाई जनाएको छ ।




