
दीननाथ बराल,
पोखरा, १९ कात्तिक,
पोखरामा सहकारी ठगी प्रकरणमा संलग्न व्यक्तिहरू पक्राउ पर्नेको क्रम रोकिएको छैन। पछिल्लो घटनामा पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्रबहादुर गोदार सहित सात जनालाई कास्की प्रहरीले बुधबार पक्राउ गरेको हो।
उनीहरूलाई सहकारीको झण्डै ८८ करोड ७० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ गरिएको कास्की प्रहरीले पोखराक्लिकलाई जनाएको छ । पक्राउ पर्नेहरूमा अध्यक्ष गोदारसँगै कोषाध्यक्ष हिरामणि दाहाल, सचिव दिलबहादुर केसी, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाप गुरुङ, सुपरभाइजर मार्केट प्रमुख बेदी प्रसाद सुवेदी र सञ्चालक इन्द्रप्रसाद द्वा रहेकाछन् । कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशको छानबिन प्रतिवेदनका आधारमा पक्राउ गरिएको जानकारी दिए । उनले भने “सहकारीको रकम बिनाधितो, नक्कली खातामार्फत निकालिएको र नियमविपरीत लगानी गरिएको प्रमाण भेटिएको छ। पक्राउ परेकामाथि म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।”
सहकारीभित्रका पदाधिकारी र ऋणीहरू मिलेर करोडौं रकम दुरुपयोग गरेको प्रारम्भिक निष्कर्षसँगै यो घटनाले पोखराका अन्य सहकारीका समस्यालाई पनि उजागर गरेको छ। पोखरामा यसअघि मात्रै करिब ६ वटा सहकारीका पदाधिकारी र सदस्यहरू ठगी प्रकरणमा पक्राउ परेका छन्। हालसम्म ७ अर्ब रुपैयाँभन्दा बढीको सहकारी ठगी भएको अनुमान प्रहरीले गरेको छ। स्रोतका अनुसार, पोखराका केही सहकारी अझै पनि गम्भीर वित्तीय समस्यामा रहेका छन् र बचतकर्ताको रकम फिर्ता नपाउने अवस्था सिर्जना हुन थालेको छ। प्रहरीले भने, “बचतकर्ताको हक अधिकार सुनिश्चित गर्न सबै सहकारीको वित्तीय अवस्था क्रमशः अनुगमन गर्दै जानेछौं,” भन्दै सहकारी ठगीमा संलग्नलाई कानूनअनुसार कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिएको छ।
यसैबिच, सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशका रजिष्टार भेषराज रिजालले ५ महिना देखिको समस्या रहेको उक्त सहकारीमा ठुलो रकम आर्थिक हिनामिना भएकोले ब्यबस्थापन गर्न नसके पछि आवश्यक कार्वाहीको लागि प्रहरी समक्ष आई पुगेको बताए । सहकारीका संचालक मात्र नभई अब सहकारीका ऋण लिइर ऋण नतिर्ने उपर समेत मुद्धा चलाइने भएको उनले चेतावनी दिए ।



