डा. नवराज केसी र साहित्यकार सुबिन भट्टराइका कुरा

-


     पोखरा क्लिक     
     कार्तिक १२ गते २०८२ मा प्रकाशित


पोखरा,

डा. नवराज केसीले काम गर्ने अस्पतालमा छट्पटाइरहेही एक वृद्धालाई अक्सिजन दिएर तंग्रिएपछि ती वृद्धाले भनिन्, ‘यो हावा जुन मैले लिइरहेको छु यो कति गुलियो हो ।’ कुनै सुगन्ध र स्वाद नभए पनि उनले जीवनको स्वाद महसुस गरिरेहकी थिइन् त्यसैले उनलाई अक्सिजन गुलियो लागेको थियो ।

यही उदाहरण दिदैं डा. केसी भन्छन्, ‘प्रत्येक क्षणमा आफूले आफूलाई कसरी महसुस गरिरहनु भएको छ त्यो क्षण स्व हो र स्वस्पर्श पनि हो ।’ पोखरा न्यूरोडस्थित सिटी स्क्वायरमा आयोजित फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सवमा साहित्यकार उपेन्द्र पौडेलसँग डा. नवराज केसी आफ्नै कृति स्वस्पर्शको स्पर्श पुस्तक माथि जीवन, खुसी, आशा अनि प्रेरणाका विषयमा गफिए । हरेक विषयमा कथा बनाउन माहिर डा. केसी कथाकै माध्यमबाट जिज्ञासा र प्रश्नका जवाफ दिइरहेका थिए । जसको चाँजोपाजो फाइनप्रिन्ट बुक्स र ¥यान्डम रिडर्स सोसाइटीले मिलाएको थियो ।

उत्सवमा जीवनको उत्तर दिने क्रममा ‘खुसी भेट्नु अलिकति र अरुलाई खुसी दिनु अत्याधिक’ हो भन्नेमा केन्द्रित थिए । आफूलाई आवश्यक परेको बस्तु उहीँ बेला प्राप्त गर्नु नै जीवनको उद्देश्य भएको उनको भनाइ थियो । उनले भने, नहुँदा जति महत्व दिन्छौं त्यो हुँदा खेरी नै त्यसको महत्व दिऔं भन्नु नै जीवनको सबैभन्दा ठूलो उद्देश्य हो ।’ गफ कै क्रममा मध्यस्तकर्ता उपेन्द्र पौडेलेले डा. केसीलाई तपाई कति मात्रामा संकलक, कति मात्रामा लेखक? भन्ने प्रश्नमा उनले हरेक लेखक सुरुमा संकलन हुनैपर्ने प्रतिउत्तर दिए । सोही प्रसंगमा डाक्टर हुन गाह्रो, लेखक हुन झन गाह्रो, त्यो भन्दा डाक्टर बनाउन अझ गाह्रो हुने बताएका थिए । एक हजामसँगको वार्तालापको प्रसंग सुनाउँदै उनले भने, ‘ यो डाक्टर हुनुभन्दा डाक्टर बनाउ झनै गाह्रो छ । किन भने मलाई मेरी आमाले बारीमा टमाटर फलाएर एक एक किलो टमाटरको हिसाव राखेर मलाई डाक्टर बनाउनुभएको हो ।’

उनले आफ्नो पछिल्लो पुस्तकमा आमाको माया पनि झल्काएको सुनाए । पुस्तक लेख्ने क्रममा उनले धेरैभन्दा धेरैको जीवनका कथा संकलन गरी लेखन सुरु गरेको पनि उनले बताए । ती पात्रहरुकै अनुमतिमा कथा पुस्तकमा समेटिएको उनको भनाइ थियो । जसले गर्दा अन्यले प्रेरणा प्राप्त गर्न सकुन भन्ने उद्देश्य रहेको थियो । संवादकै क्रममा उनले आफ्नो पुस्तक स्पस्पर्शको चर्चा पनि गर्न भ्याए । संसारमा लेख्न, पढ्न र बोल्न नसक्नेहरुको पनि कथा हुने भएकाले उनीहरुको कथाले अरुलाई प्रेरणा दिन सकिन्छ भन्ने उनको धारणा छ । उनीलाई साहित्यले बाध्न सक्नुपर्ने उनको तर्क छ । ‘भुइँमान्छेका कथाहरु संकलन गर्न सकिदैन् । किनभन उनीहरुले बोल्न र लेख्न जानेका छैनन् । यहीनेर त साहित्यको काम छ,’ उनले भने, ‘खुरुखुरु औषधि बेचिरहेको डाक्टरले लेख्नुपर्छ । साहित्य भाषाभन्दा माथि किन छ भने जहाँ शब्दैशब्दले तपाईंलाई निशब्द बनाउँछन त्यहाँबाट साहित्य सुरु हुन्छ ।’

आफ्नो पुस्तक पढेर निशब्द हुदैं जीवन बदलेको उदाहरण पनि आफूलाई इमेलमार्फत जानकारी गराएको प्रसंग पनि उनले सुनाए । ‘मैले केही दिन यता मेरो इमेलमा धेरै म्यासेजहरु पाइरहेको छु । त्यो मध्ये एउटा बहिनीले लेखेको मन छुने म्यासेज छ, “मैले आत्महत्या गर्न डोरी किनिसकेको थिएँ । स्वस्पर्शको स्पर्श पढेँ डोरी हटाएँ र बाँच्न सुरु गरे”, उनले भने, ‘त्यसपछि उनको फेसबुक प्रोफाइल निरन्तर हेररहेको छु उनी नाचेको घुमेको फोटोहरु देख्छु । सायद मलाई संकलकबाट लेखक ती बहिनीले बनायो की जस्तो लाग्छ ।’ डाक्टर भएर बाँचिरहँदा तन र मनको उपचार गर्न सक्नुपर्नेमा उनले जोड दिए । ‘अस्पतालमा मान्छेहरु रोग मात्र होइन् ऋण पनि बोकेर आएका हुँदा रहेछन् । मलाई यो बुझ्न धेरै समय लाग्यो,’ उनले भने, ‘ त्यसैले तन र मनको रोग सँगसँगै चल्छ । जसले रोगको निवारण गर्ने हो उसले पनि तन र मनै खालेर हेरिरहेको छ की छैन् भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’ सोही विषयमा उनले धर्म विनाको कर्मको अर्थ नहुने तर्क दिएका थिए ।

उनले आफ्नो पुस्तक स्वस्पर्शको स्पर्शमा बुद्धको ज्ञानलाई विज्ञानसँग जोडेको प्रसंग पनि सुनाए । नेपाली साहित्यको पाइला पाइलामा बौद्ध दर्शन भएको तर त्यसलाई विश्वव्यापी गर्न चुकिरहेको उनको भनाइ थियो । ‘म घरै बसेर मेरो कर्मको माध्यमबाट बुद्धत्व प्राप्त गर्छु,’ उनले भने, ‘म बिरामी जाच्दा जाच्दै बुद्ध बन्न चाहनछु । म के अनुरोध गर्न चाहन्छु भने जे कर्म गर्दै हुनुहुन्छ त्यही कर्मको माध्यमबाट बुद्धत्व प्राप्त गर्नुस् ।’ आफ्नो पुस्तकमा खुसीका विषय भरपुर समेटिएको उनले सुनाए । पुस्तकमा भएको ‘डुक्ने स्माईल’ को प्रसंग सुनाउँदै हाँसेमा धेरै दुख घट्ने उनले बताए ।

संवादको अन्त्यमा, हामी सबै बुद्धले सिकाएको मध्यम मार्गमा हिड्नुपर्ने उनले बताए । डा. केसीको कृतिहरुमा आमा पात्रलाई किन बढि प्राथमिकता? भन्ने प्रश्नमा उनले जवाफ दिदैं भने, ‘आमाको बारेमा किन धेरै लेख्नुप¥यो भन्दा इतिहासको कालखण्डमा कहिले पनि बाहरु सती गएनन् । त्यसैले समेट्नुप¥यो,’ उनले भने, ‘यद्धपि हामी बुद्धले सिकाएको मध्यम मार्गमा हिड्नुपर्छ । महिलाको धेरै कथा लेखियो भनेर पुरुषहरु धेरै आत्तिनु हुँदैन् र पुरुषका धेरै प्रश्नहरु आए भनेर महिलाहरु आत्तिनुहुदैन् ।’

यसैबिच,‘मष्तिष्कमा भएका कथाहरु निस्कनै मानेनन्, अनि लेख्न सुरु गरेँ’

साहित्यकार सुबिन भट्टराईको मष्तिष्कमा लामो समयदेखि केही कथाहरु खेलिरहेका थिए । कुनै कथा उनी कतै घुम्न जाँदाका थिए त कुनै कथा कसैलाई संगत गर्दाका । ती कथा सुबिनको मष्तिष्कमा बसिरहे । लामो समय मष्तिष्कमा खेलिरहेपछि सुबिनलाई लाग्यो –अब ती कथा लेख्नुपर्छ । त्यसपछि सुबिन पुस्तकका लागि कथा लेखनमा लागे ।

‘कुनै पनि कथा मष्तिष्कमा लिंगरिङ गरेर बसिरह्यो भने आफूले आफूलाई त्यो विषय लेख्नुपर्छ भनेर निर्देशन दिन्छ,’ सुबिनले पुस्तक लेख्नुअघिको कुरा सम्झिँदै भने, ‘यसमा भएका कथाहरु पनि लामो समयदेखि मेरो मष्तिष्कमा रहेको थियो । पटक्कै जान मानेनन् र अब तैले लेख्नुपर्छ भनेर मलाई महसुस भयो र लेखेँ ।’ पोखराको सिटी स्क्वायर ब्याङ्क्वेटमा बुधबार आयोजित फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सवको पहिलो सेसनमा गाफिँदै थिए, सुबिन । ‘चमेलीको फूल बैजनी रुमाल’ पुस्तकमाथिको विमर्शमा सुबिनको वार्तालापमा थिइन््, अभिनेत्री सनिशा भट्टराई । जसको बन्दोबस्त गरेको थियो, फाइनप्रिन्ट बुक्स र ¥यान्डम रिडर्स सोसाइटीले ।

पुस्तक लेखेपछि लेखक सुबिनलाई पुस्तकको नाम जुटाउन केही समय लाग्यो । पुस्तकमा ७ वटा फरकफरक कथा छन् । उनीहरुका आआफ्नै फरकफरक शीर्षक थिए । तर, पुस्तकको शीर्षक भने तयार थिएन । पुस्तकको मर्मअनुसार उनले नाम तयार गरे –‘चमेलीको फूल बैजनी रुमाल’ । उनी आफैलाई उक्त नाम लामो लागेको थियो । पाठकबाट पनि उनलाई नाम लामो भएको प्रतिक्रिया दिएका थिए । तर, सुबिनले लामो शीर्षक भएपनि पुस्तकको मर्मअनुसार रहेको निचोडमा पुगे । सुबिन आफैलाई कविता जस्तो लाग्छ । उनी भन्छन्, ‘यो पुस्तकको शीर्षक यसअघिका कृतिभन्दा लामो छ । तर, उच्चारण गरिराख्दाखेरि अभ्यस्त हुन्छ । अहिले चमेलीको फूल बैजनी रुमाल’ भन्दा आफैलाई आनन्द लाग्छ । त्यो लेखकको आनन्द हो जस्तो लाग्छ ।’

उक्त पुस्तकमा फरकफरक ७ कथा छन् । ती कथाहरु लामो समयदेखि आफ्नो मष्तिष्कमा रहेको मध्ये रहेको सुबिन बताउँछन् । उनले हरेक मान्छेहरुसँग संगत गर्दाखेरि, हरेक ठाउँमा जादाखेरि त्यहाँ कथाको सम्भावना कति छ भनेर लोभी नजरले हेर्ने सुबिन सुनाउँछन् । तर, लेख्नुबित्तिकै लेखिहाल्ने स्वभाव उनीमा छैन । केही समय त्यसलाई उनी दिमागमै हुर्काउन थाल्छन् । मष्तिष्कबाट हट्न नमानेपछि मात्रै उनी लेख्न थाल्छन् । कथा हरेक मानवको वरिपरि हुने सुबिनको अनुभव छ । ‘कथाहरु हाम्रो वरिपरि नै रहेको सुबिनको अनुभव छ । हामी सबैसँग कथा छ । कसैले लेख्छ, कसैले भन्छ, आआफ्नो कुरा हुने रैछ,’ उनले सुनाए ।

युवा पुस्ताको रोजाईमा पर्न सफल मध्यको एक हुन्, साहित्यकार सुबिन । इजोरिया पुस्तकले उनको उचाईमात्र चुलाएन, मदन पुरस्कारको मनोनयनमा पार्न समेत सफल रह्यो । ‘अरु किताब बेस क्याम्पमा पुग्यो, इजोरिया टुप्पो मै पुग्यो कि भन्ने लाग्छ । मधेशमाथि बसेको किताबमा मधेशको फेबरमा लेख्न नसक्ने हो भने यो अवस्थामा पुग्ने थिएन,’ सुबिनले भने । उनै सुबिनलाई बेलाबखत पाठक केन्द्रीत गरेर पुस्तक लेख्ने गरेको आरोप पनि लाग्दै आएको छ । तर, उनले जहिले पनि कथा नै केन्द्रमा राखेर पुस्तक लेख्ने गरेको बताउँछन् । ‘कथाको केन्द्रमा जहिलेपनि कथा नै हुने रैछ । पाठक अलिकति सेकेन्डरी कुरा भन्छु म । लेख्नेबेला सबै पाठकलाई खुसी बनाउनु भनेर लेख्न सकिँदैन । एउटा मेजर पाठकलाई खुसी बनाउन सक्यो भने त्यो चाहिँ लेखकका लागि सबैभन्दा राम्रो कुरा हो,’ उनी भन्छन् ।

आफूलाई सानैदेखि कम्तीमा एउटा किताब लेख्नु नै भन्ने लागेको सुबिन बताउँछन् । अहिले भने लेखन नै रोजीरोटी बनेको उनको भनाइ छ । ‘जिन्दगीमा एउटा किताब लेख्छु, एउटा किताब नलेखी मर्दैन भनेर भन्ने थियो । कथामा रमाउँछु भन्ने एक्सप्लोर गरिसकेको थिए,’ उनले भने, ‘अहिले लेखन मेरो रोजीरोटी नै बन्न पुग्यो ।’