मणिपाल शिक्षण अस्पतालको सेवा प्रभावित

-


     पोखरा क्लिक     
     असाेज २७ गते २०८२ मा प्रकाशित


पोखरा, २७ असोज,

नेपाल मणिपाल शिक्षण अस्पताल, पोखराको सेवा नर्सहरूको आन्दोलनका कारण प्रभावित भएको छ। न्यूनतम पारिश्रमिक नपाएको भन्दै अस्पतालका स्टाफ नर्सहरू निरन्तर आन्दोलनमा उत्रिएपछि अस्पतालको अधिकांश सेवा ठप्प भएको हो।

अस्पतालका श्रोतका अनुसार नर्सहरू आन्दोलनमा गएसँगै अस्पतालमा गम्भीर प्रकृतिका बिरामीबाहेक अन्यलाई अन्यत्र व्यवस्थापन गरिएको छ। ओपीडी सेवा ठप्प भएको छ भने भर्ना हुने बिरामीको प्रक्रिया रोकिएको छ। अस्पतालले नयाँ बिरामी भर्ना नगरी पुराना बिरामीलाई अन्य स्वास्थ्य संस्थामा रिफर गर्दै आएको छ।

अस्पतालमा कार्यरत करिब ३ सय ६६ जना नर्सले पारिश्रमिक वृद्धि माग गर्दै शुक्रबारदेखि आन्दोलन थालेका हुन्। उनीहरूको भनाइमा सरकारको निर्णयअनुसार पारिश्रमिक नपाएको र कार्यभारअनुसार सुविधा अत्यन्त न्यून भएकाले आन्दोलनमा उत्रिनु परेको हो। अस्पतालका सूचना अधिकारी शंकरबहादुर जीका अनुसार प्रशासनले केही सुविधा थप गर्ने प्रस्ताव राखे पनि नर्सहरूले त्यसलाई अस्वीकार गरेका छन्।

आन्दोलनका बीच अस्पतालले नयाँ नियुक्तिको विज्ञापन पनि निकालेको छ। स्टाफ नर्स, एचए, एएनएम र सिएमएका लागि आवश्यक संख्या नखुलाई विज्ञापन खुलाइएको हो। विज्ञापनका कारण नर्सहरूबीच थप असन्तोष देखिएको छ। सरकारले गत मंसिरमा स्वास्थ्य संस्थामा कार्यरत नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी दरभन्दा कम हुन नपाउने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयन नगरेको भन्दै देशभरका नर्सहरू आन्दोलित भइरहेका छन्। पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा जारी आन्दोलनले दैनिक उपचार सेवा प्रभावित बनेको छ भने बिरामी र अभिभावकहरूलाई पनि ठूलो कठिनाइ भएको छ।