
दीननाथ बराल,
पोखरा, २५ असोज,
विजयादशमी पर्व सकिएसँगै पर्यटनको राजधानी पोखरामा फेरि पर्यटकहरूको चहलपहल बढ्न थालेको छ। पर्वको बिदा सकिएपछि शनिबारदेखि आन्तरिक र बाह्य दुवै पर्यटकहरूको आगमनमा उल्लेखनीय वृद्धि भएको पर्यटन व्यवसायीहरूले बताएका छन्।
पोखराका प्रमुख पर्यटकीय क्षेत्रहरू — फेवाताल, सराङकोट, विश्वशान्ति स्तूप, पुम्दीकोट बिशाल महादेवको मुर्ति, लेकसाइड लगायतका क्षेत्रमा पर्यटकहरूको भिडभाड देखिन थालेको छ। विशेषगरी फेवातालमा ढुङ्गा सयर गर्नेको लर्को लागेपछि पोखरा पुनः पर्यटकको रौनकले आशा जगाएको छ । फेवा डुंङ्गा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीका अनुसार शनिबार बिहानैदेखि बाराहीघाटमा लाइफ ज्याकेट लिने र डुङ्गा सयरका लागि लाइनमा उभिनेहरूको भीड लागेको थियो। “दशैंपछि यस्तो भीड पहिलोपटक देखिएको हो, जसले व्यवसायमा नयाँ आशा जगाएको छ,” उनले भने।
हाल फेवातालमा प्रति व्यक्ति लाइफ ज्याकेट शुल्क १०० रुपैयाँ, काठको डुङ्गाको प्रतिघण्टा सयर शुल्क ९०० रुपैयाँ र प्याडल बोटको प्रतिघण्टा १६०० रुपैयाँ तोकिएको छ। डुङ्गा सयर गर्नेको संख्या बढेसँगै व्यवसायीहरू उत्साहित भएको डुंगा व्यवसायी प्रीतम कुँवरले बताए। त्यस्तै दशैं–तिहारको लामो बिदालाई लक्षित गर्दै विद्यार्थी समूह, संघसंस्थाका टोली र पारिवारिक पर्यटकहरू पोखरा भ्रमणमा आएका छन्। साहसिक खेलकुदमा समेत आकर्षण बढेको छ। नेपाल हवाई खेलकुद संस्था ९ना० का अध्यक्ष अनिल केसीका अनुसार हाल दैनिक २०० देखि २५० जना पर्यटकले पोखरामा प्याराग्लाइडिङको मजा लिँदै आएका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि प्याराग्लाइडिङ स्थान्तरण भए पनि केही समय देखि पुनःतोरीपानीबाट उडान र खपौदीमा अवतरण हुँदै फेवाताल माथिसम्म उड्न पाउने व्यवस्था भएपछि पर्यटकहरूको आकर्षण पुनः बढेको केसीले बताए।त्यस्तै, खुला मौसमका कारण ट्रेकिङ गतिविधि पनि तीव्र बनेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार अन्नपूर्ण, मर्दी हिमाल, घोरेपानी–पुनहिललगायतका विश्वप्रसिद्ध पदमार्गहरूमा हाल देशी–विदेशी पर्यटकहरूको उत्साहजनक सहभागिता देखिएको छ।
यसैबीच, होटल व्यवसायमा पनि सुधारका संकेत देखिन थालेका छन्। होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार हाल पोखराका होटलहरूमा औसत अकुपेन्सी दर ३० प्रतिशत पुगेको छ। उनले भने, “जेनजी आन्दोलन र प्रतिकूल मौसमले केही समय पोखराको पर्यटनमा असर पारेको थियो, तर अहिले पर्यटकको आगमन विस्तारै सामान्य अवस्थामा फर्किँदैछ।” सुवेदीका अनुसार अहिलेको मौसम ट्रेकिङ र आन्तरिक भ्रमणका लागि उपयुक्त भएकाले आगामी हप्तामा अकुपेन्सी दर अझै बढ्ने अपेक्षा गरिएको छ। पोखराका व्यवसायीहरूका अनुसार फेवातालको किनारदेखि अन्नपूर्ण पदमार्गसम्म पुनः पर्यटकको उपस्थितिले “पोखराको मुहारमा हर्ष र आशाको चमक” फर्काउन थालेको छ।





