पोखरा–२२ मा ५ दिने माला बनाउने तालिम सुरु, स्थानीय महिला र युवामा उत्साह

-


     पोखरा क्लिक     
     असाेज ५ गते २०८२ मा प्रकाशित


पोखरा,

पोखरा महानगरपालिका नगर युवा परिषदको आयोजनामा, वडा युवा परिषद–२२ को सहआयोजनामा तथा कालिमाटी शान्ति स्तूप टोल विकास संस्थाको समन्वयमा आइतबारदेखि पाँच दिने माला तथा हस्तकला तालिम सुरु भएको छ । तालिम असोज ९ गतेसम्म सञ्चालन हुनेछ।

स्थानीय महिला र युवालाई सीपमूलक, व्यवसायिक तथा उद्यमशील बनाउन उद्देश्यका साथ सुरु गरिएको तालिमको पहिलो दिन करिब दुई घण्टा सञ्चालन भएको थियो। तालिममा विभिन्न टोलका बासिन्दाको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ। कार्यक्रमको अध्यक्षता वडा युवा परिषद–२२ र कालिमाटी शान्ति स्तूप टोल विकास संस्थाका अध्यक्ष दिनेश बरालले गर्नुभयो। उद्घाटन समारोहमा प्रमुख अतिथि वडा सदस्य कृष्णकुमारी देवकोटा, विशेष अतिथि नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेसहित विभिन्न टोल विकास संस्था, आमा समूह, क्लब तथा संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रम सञ्चालन झम्कनाथ देवकोटाले गर्नुभएको थियो।

उपाध्यक्ष न्यौपानेले कार्यक्रममा बोल्दै यस्ता सीपमूलक तालिम अहिलेको आवश्यकतासँग जोडिएको बताउनु भयो । उहाँले भन्नुभयो “माला बुन्ने सीपले आम्दानी र उद्यमशीलताको अवसर खोल्छ। नगर युवा परिषद सदैव युवामुखी कार्यक्रमसँग सहकार्यमा रहनेछ।” त्यस्तै प्रमुख अतिथि देवकोटाले वडा युवा परिषद गठन भएदेखि निरन्तर कार्यक्रम हुँदै आएको उल्लेख गर्दै भविष्यमा पनि सहयोगी बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष दिनेश बरालले तालिमले पुम्दिकोट–शान्ति स्तूप क्षेत्रका बासिन्दालाई प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास व्यक्त गर्दै भने, “गाउँघर र पुम्दी–भुम्दी क्षेत्रका पर्यटकीय स्थलमा माला पसलहरू सीमित छन्। यस तालिममार्फत सीप सिक्नेहरूले आफ्नै उद्यम सुरु गरेर तत्कालै आम्दानी गर्न सक्नेछन्।”