पोखरा सहित गण्डकी प्रदेशका पर्यटन व्यावसायीहरु नेपाल राष्ट्र बैंकमा, सहुलियत दरमा कर्जा सहितको राहत उपलब्ध गराउन माग

-


     पोखरा क्लिक     
     असाेज ५ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ५, असोज,

पोखरा सहित गण्डकी प्रदेशका पर्यटन व्यावसायीहरु नेपाल राष्ट्र बैंकमा पुग्नु भएको छ । जेनजी आन्दोलनको क्रममा करिब साँढे २ अर्ब भन्दा बढीको क्षति भएको दाबी गर्दै व्यवसायीहरुले पर्यटनको सिजनमा उक्त आन्दोलनका कारण पर्यटन व्यावसाय धरासाहि भएकोले व्यवसायीहरुको लागि राहत उपलब्ध गराउन माग गर्दै व्यवसायीहरु नेपाल राष्ट्र बैंकमा पुग्नु भएको हो ।

व्यवसायीहरुले सहुलियत दरमा कर्जा सहितको रहात उपलब्ध गराउन माग गरेको टोलीमा सहभागि मध्यका एक नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनु भयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, सहित अन्य परिषदका सदस्यहरूको टीमले नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलसँग भेटघाट गर्दै उक्त माग गर्नु भएको हो ।
सरकारले सरल राहतका प्याकेज ल्याउनुपर्ने र कर्जा भुक्तानीको पुनर्तालिकीकरण गर्न आवश्यक रहेको माग पत्रमा उल्लेख गरिएको छ । कृषि क्षेत्रमा जस्तै ऋण सहुलियत ब्याजदरमा पर्यटन उद्योगमा पनि अनिवार्य लगानी गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

गभर्नर पौडेलले व्यवसायीहरुको गुनासो सुन्दै उहाँहरुको मागको बिषयमा आफुहरु गम्भिर हुने बताउनु भयो । जेनजी आन्दोलनबाट धेरै क्षेत्र प्रभावित भएकोले त्यसको पुनःउत्थानको लागि आफुहरुले सक्दो सहयोग गर्ने उहाँले आश्वासन दिनु भएको बताइन्छ ।

जेनजी आन्दोलन सुरु हुनुअघि पर्यटन क्षेत्र मुख्य सिजनको संघारमा उक्त घटना हुनुले बुकिङ समेत प्रभावित भएको व्यवसायीहरुले गुनासो गर्नु भएको छ । जेनजी आन्दोलनको क्रममा पोखराका होटल तथा रिसोर्ट देखि विभिन्न पसलहरुमा समेत तोडफोड र आगजनी एवं लुटपाट हँुदा करिब २ अर्ब ५० करोड बढीको क्षति भएको व्यवसायीहरुले दाबी गर्नु भएको छ । पोखरा सहित गण्डकी प्रदेशमा अहिलेको अबस्थामा जेनजी आन्दोलनको कारण दैनिक जसो ८ करोड मुल्य बराबरको कारोवार प्रभावित भएको प्रमुख लामिछानेले दाबी गर्नु भएको छ ।