जनप्रतिनिधिको परिवार हो भन्ने बहानामा हाम्रो पसिना र श्रमलाई क्षणभरमै खरानी पारियोः आचार्य

-


     पोखरा क्लिक     
     असाेज १ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १ असोज,

गण्डकी प्रदेशकै सबैभन्दा ठुलो सुविधा सम्पन्न सभाहलका रूपमा स्थापित भएको पोखरा इभेण्ट सेन्टर केही दिन देखि भुत घर जस्तो भएको छ । जेनजी आन्दोलनको क्रममा आगजनी, तोडफोड र लुटपाट भएको दृश्य नजिकबाट न्यालनु भएको पोखरा इभेन्ट सेन्टरका प्रबन्ध सञ्चालक शिवराज आचार्यले आन्दोलनकारीहरुलाई प्रश्न गर्नु भएको छ ।

जनप्रतिनिधिको परिवार हो भन्ने बहानामा हाम्रो पसिना र श्रमलाई क्षणभरमै खरानी पार्नु गलत भएको उहाँले गुनासो गर्नुभयो । प्रबन्ध संचालक आचार्यले भन्नुभयो “के जनप्रतिनिधिको परिवारमा जन्मिनु अपराध हो ? के नियम पालना गरेर, कर तिरेर, इमानदारीपूर्वक स्वरोजगार बन्ने र अरुलाई रोजगारी दिने अधिकार हामीसँग छैन? हाम्रो संघर्ष, हाम्रो श्रम, हाम्रो सपना तपाईंहरुकै हो। यसलाई नष्ट गर्ने, धमिलो पानीमा माछा मार्न खोज्ने केही समूहहरूको अनैतिक कामप्रति म हृदयदेखि खेद प्रकट गर्दछु।” इभेण्ट सेन्टरमा आगजनी हुँदा सम्पूर्ण भित्री संरचना जलेर नष्ट भएको र सबै सामग्री समेत लुटिएको उहाँले गुनासो गर्नुभयो । राष्ट्रिय अन्तराष्ट्रिय विभिन्न कार्यक्रम गर्दै अग्रिम बुकिङ लिएको सेन्टरमा हाल पर्यटन सिजनको मुखमै सुनसान भएको छ । सेन्टर हाल भत्केका पर्खाल, जलेको फलामका टुक्रा र खरानी मात्र बाँकी रहेको छ ।

पोखरा–३३ गैरागाउँस्थित पोखरा इभेन्ट सेन्टरका प्रबन्ध सञ्चालक आचार्यले पुवा पुस्ता आन्दोलनको नाममा केही स्वार्थी समूहहरूले नियोजित रूपमा आफ्नो व्यवसाय माथि आगजनी र लुटपाट गरी करोडौँको लगानी एकाएक खरानी बनाइदिए पछि हाल उहाँ निकै विछिप्त अबस्थामा हुनुहुन्छ । आचार्यका अनुसार बैंकबाट ऋण लिएर, दशकौँको अनुभव र लगानीका आधारमा स्थापना गरिएको उक्त सेन्टरले हालसम्म सयौँलाई रोजगारी दिँदै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्दै आएको थियो। तर नियोजित रूपमा गरिएको क्षतिले उनीहरूलाई आर्थिक र भावनात्मक रूपमा ठूलो आघात पु¥याएको उहाँले जनाउनु भयो । “

अनैतिक काम गर्नेहरूको कहिल्यै भलो हुँदैन,” भन्दै उहाँले इभेन्ट सेन्टरलाई फेरि उठाउने दृढ सङ्कल्प समेत व्यक्त गर्नु भएको छ । पोखरा इभेण्ट सेन्टर केवल आफुहरुको भए पनि समग्र पोखरा र यस क्षेत्रको आवश्यकताको आधारमा स्थापना गरिएकोले अब आफुहरुले खरानी टंक्टकाउदै उच्च मनोवलका साथ छिट्टै संचालनमा ल्याउने दाबी गर्नु भयो । आफ्ना दाजु पोखराका मेयर धनराज आचार्यको घर सहित गाडी माथि आगजनी हुनु निकै निन्दनीय घटना भएको शिवराजले पोखराक्लिकलाई बताउनु भयो । देशमा महत्वपुर्ण सरकारी कार्यालय सहित नीजि क्षेत्र सहित अन्यमा हमला गर्नु यसले देशलाई आर्थिक संकटन तर्फ उल्मुख गराएको व्यवसायीहरुको भनाई छ ।