ठुलो क्षतिको मारमा परेका युवा व्यवसायी शौगात थापाको नक्कली फेसबुक मार्फत रकम असुल्न खोज्ने ४ जना पक्राउ

-


     पोखरा क्लिक     
     भाद्र २९ गते २०८२ मा प्रकाशित



दीननाथ बराल,
पोखरा, २९ भदौ,

जेन–जी आन्दोलनका क्रममा घरसहित व्यवसाय जलेर खरानी बनेपछि शोक र पीडामा रहेका गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री समेत रहनुभएका बिन्दुकुमार थापाको परिवारमाथि अर्को प्रहार भएको छ । नक्कली फेसबुक खाता खोल्दै सहयोगको बहानामा रकम असुल्ने अपराधिक प्रयास गरेको एक समुहलाई प्रहरीले पक्राउ गरेको छ ।

मन्त्री थापाका छोरा शौगात थापाको नक्कली फेसबुक आइडी बनाएर ठग्ने प्रयास गर्ने चार जना व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । थापा परिवारको सम्पूर्ण संरचना जलेर खरानी बनेको भोलिपल्टै शौगातलाई गम्भीर संकटमा परेका जस्तो देखाउँदै विभिन्न प्रतिष्ठित व्यक्ति, व्यापारी र आफन्तहरूलाई लक्षित गरी रकम मागिएको थियो ।

पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमलाई समेत सो फेक आइडीबाट एक लाख रुपैयाँ मागिएको थियो । उनले सामाजिक सञ्जाल मार्फत सूचना जारी गरी घटना सार्वजनिक गर्नुभयो । त्यसपछि अन्य व्यापारीहरूमा पनि उस्तै प्रयास भएको पत्ता लागेपछि थापा परिवारले प्रहरीमा जानकारी दिएको थियो। पोखरा ट्रेड मल क्षेत्रमा व्यवसाय गर्नेहरूलाई समेत सोही नक्कली आइडी मार्फत नगद ल्याउन बोलाइएको खुलासा भएको छ ।

प्रहरीका अनुसार सूचना प्राप्त भएपछि चिप्लेढुङ्गास्थित ट्रेड महल हाउजिङ प्रालिमा नगद बुझ्न आएका व्यक्तिहरूमध्ये चारै जनालाई शनिबार दिउँसो करिब साढे १२ बजे पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा लमजुङ मध्यनेपाल–८ का विवेक गुरुङ (२८), पोखरा–२९ का बुद्ध गुरुङ (२७) पोखरा–५ का मीनराज तामाङ (३७) र पोखरा–१७ का दीपक ढकाल (४०) रहेका छन् । उनीहरूको साथबाट ठगी र लुटपाटमा प्रयोग हुने धारिलो हतियारसहित नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ । विवेक गुरुङको साथबाट विभिन्न दरका १ लाख २२ हजार रुपैयाँ र धारिलो तरवार फेला परेको छ भने बुद्ध गुरुङको साथबाट फलामको स्टिक बरामद भएको छ ।

कास्की प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार, “यी व्यक्तिहरूले नक्कली फेसबुक आइडीमार्फत मात्र नभई अन्य स्थानहरूमा पनि हातहतियार देखाएर रकम असुलेको जनाए। हाल उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उहाँले जनाउनु भयो । यस घटनापछि थापा परिवारले आफ्नो आधिकारिक फेसबुकमार्फत अपिल गर्दै भनेका छन् — “हामी अहिले ठूलो विपदमा छौं, तर कसैसँग पनि हामीले एक रुपैयाँ पनि मागेका छैनौं । कृपया यस्ता फेक आइडीहरूबाट सतर्क रहनुहोस् ।”

घरवार र सम्पत्ति नै खरानी बनेको अवस्थामा पनि यस्ता ठगी प्रयासले थप मानसिक पीडा दिएको भन्दै मन्त्री थापाले भनेका छन् — “जो जसले हाम्रो सम्पत्ति जलाए, हाम्रो मन जलाउन सक्दैनन् तर हाम्रा् मन कसैले जलाउन सक्दैनन अझ अठोटका साथ पोखराको पर्यटन क्षेत्रमा पुनः सशक्त रूपमा उदाउँछौं ।” प्रदेश सरकारबाट प्राप्त हुने तलबभत्ता समेत सामाजिक सेवामा खर्च गर्दै आएका थापाले राज्यको एक पैसा पनि आफुलाई लोभ नभएको जनाए ।