जेन–जी आन्दोलनका मृतकलाई शहीद घोषणा, प्रत्येक परिवारलाई १० लाख राहत

-


     पोखरा क्लिक     
     भाद्र २९ गते २०८२ मा प्रकाशित


काठमाडौं,

युवा पुस्ता जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सबैलाई सरकारले शहीद घोषणा गरेको छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आजै पदभार ग्रहण गरे लगत्तै मन्त्रीपरिषद् बैठक बसी सो निर्णयमा हस्ताक्षर गर्नूभयो ।

आन्दोलनमा ज्यान गुमाउनेमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी तथा ३ जना सुरक्षाकर्मी गरी कुल ७२ जना रहेको
सरकारका मुख्य सचिव एकनारायण अर्यालले जनाउनु भयो । साथै १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएको उहाँले जनाउनु भयो । प्रधानमन्त्री कार्कीले प्रत्येक मृतकका परिवारलाई १०–१० लाख रुपैयाँका दरले राहत रकम प्रदान गरिने घोषणा गर्नुभएको छ ।

यसबाहेक उहाँले आजै राजधानीका विभिन्न अस्पताल पुगेर घाइतेहरूलाई भेट्नुभएको छ । त्यहाँ उहाँले जेन–जी आन्दोलनका जायज मागहरू कार्यान्वयन गर्न सरकारले तिव्र रूपमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “हामी १८ घण्टा खटेर काम गर्छौं । ध्वस्त बनेको नेपाललाई सबैको साथ र सहयोगले फेरि जुरुक्क उठाउँछौं ।” चुनौतीपूर्ण अवस्थामा जिम्मेवारी सम्हाल्नु भएको प्रधानमन्त्री कार्कीको यो निर्णयलाई देशभरका युवाहरूले स्वागत गर्नु भएको छ ।