जेन–जी आन्दोलनः पोखरामा जलेर ३ जनाको मृत्यु

-


     पोखरा क्लिक     
     भाद्र २८ गते २०८२ मा प्रकाशित


पोखरा, २८ भदौ,

जेन–जी आन्दोलन हिंसात्मक बन्दै जाँदा पोखरामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । आन्दोलनकै क्रममा कास्की जिल्ला प्रहरी कार्यालयमा गरिएको आगजनीमा गम्भीर रूपमा घाइते भएका तनहुँ भानु–१० का ४३ वर्षीय विजय लामाको शुक्रबार बिहान १२ः०० बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका–१६ बस्दै आएका लामा करिब ७० प्रतिशत शरीर जलेका उनलाई तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको थियो । अस्पताल प्रशासनले उनको मृत्युको पुष्टि गरेको छ । यसअघि सोही आन्दोलनका क्रममा जलेर दुई जनाको महिलाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

जेन–जी आन्दोलन उग्र बन्दै जाँदा प्रदर्शनकारीहरूले कास्कीका विभिन्न सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका थिए । अधिकांश कार्यालय ध्वस्त भएपछि उनीहरू डोजरसहित जिल्ला प्रहरी कार्यालयतर्फ पुगेका थिए । गेट भत्काउँदै कार्यालयभित्र प्रवेश गरेका प्रदर्शनकारीहरूले तोडफोड, लुटपाट र आगजनी गरेका थिए । प्रहरीका अनुसार त्यही क्रममा डोजर लिएर कार्यालयभित्र प्रवेश गरेका एक युवक गोली लागेर घाइते भएका छन् र अहिले पनि उनको उपचार भइरहेको छ ।