
पोखरा, १३ भदौ,
पुम्दी–भुम्दी दोस्रो पर्वतीय दौड प्रतियोगिता सफल पार्न विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी छ । पोखरा क्लिक प्रा.लि. र पोखरा प्रबद्र्धन केन्द्रको संयुक्त आयोजनामा आगामी असोज ४ गते हुने सो पर्वतीय दौड प्रतियोगितालाई नमस्ते हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., पोखराले पनि साथ दिने भएको छ ।
अस्पतालका मेट्रोन एलिना सिंह र प्रतियोगिता संयोजक दीननाथ बरालबीच सो प्रतियोगिताको हस्पिटल पार्टनर सम्बन्धमा सम्झौता भएको हो । सम्झौतावापत् अस्पतालले प्रतियोगिता अवधिभर एम्बुलेन्स सहित स्वास्थ्यकर्मी उपलब्ध गराउनेछ । करिब १४ वर्षअघि स्थापित नमस्ते हस्पिटलले पोखरा मुस्ताङचोक पार्दीमार्गमा आफ्नै अत्याधुनिक सुविधासम्पन्न भवनबाट सेवा दिँदैआएको अस्पतालका प्रबन्ध निर्देशक मदनकुमार रञ्जितकारले बताए । यहाँ विशेषज्ञ चिकित्सकसहित ओपीडी, ओटी, वार्ड, आईडब्लु लगायत चौबिसै घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा उपलब्ध छन् ।
पर्यटकीय राजधानी पोखराको आर्थिक समृद्धिका लागि खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गत वर्ष झैं यस वर्ष पनि विश्व पर्यटन दिवस सन्दर्भमा पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक बरालले बताए । विश्वशान्ति स्तुपबाट सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ वडा कार्यालय हुँदै न्यालडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा समापन हुने ८ कि.मी. पर्वतीय दौडमा खुला, वडास्तरीय, महिला, यू–१६ र पर्यटन तथा ४० वर्ष माथिका भेट्रान्सतर्फको प्रोत्साहन गरी ६ वटा इभेन्ट हुनेछन् । खुलातर्फ प्रथम हुने धावकले ५० हजार नगद प्राप्त गर्ने छन् । दोस्रो, तेस्रो, चौथो र पाँचौँलाई क्रमशः ३० हजार, १५ हजार, सातहजार, तीनहजार र छैटौँदेखि १० औं स्थानसम्म दूरी पूरा गर्ने धावकलाई जनही एक हजार नगद मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिने छ ।
यसैगरी, वडास्तरीय, खुला महिला र यू–१६ तर्फका विजेता जनही १५ हजार र उपविजेता जनही सात हजार रुपैयाँसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ । भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था छ । भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही १५ हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा भाग लिने धावकले भदौ २५ गतेसम्म अनलाइन फाराम भर्नुपर्ने प्रतियोगिताका निर्देशक ओम लामाले बताए । पोखरा क्लिक डटकममा अनलाइन फाराम भर्न सकिने सुविधा छ ।
गत वर्ष बेलायत र ब्राजिलसहित ७१ पुरुष र ३३ महिला धावकले अनलाइन फाराम भरेका थिए । प्रतिकूल मौसमका कारण ७९ जना सहभागी भएकामा खुलातर्फको उपाधि सशस्त्र प्रहरी बल एपीएफ क्लबका निरोज भट्ट क्षत्रीले जितेका थिए । प्रतियोगिताको तयारी तीव्र पारिएको केन्द्रका उपाध्यक्ष असफल गौतमले बताए ।
प्रतियोगिता सफल पार्न विश्व शान्ति स्तुपः समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्धपार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, पोखरा लेकसाइडको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्स, हिमश्री फुड्स प्रा.लि.÷केसी ग्रुप, पोखरा पर्यटन परिषद्, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, टान गण्डकी, सहास स्पोट्र्स नेपाल, अटोवेज प्रा.लि., पोखरा महानगरपालिका २२ को वडा युवा परिषद्, पोखरा भ्रमण वर्ष २०२५, परिचय एड्भरटाइजिङ, ड्याम साइड युवा क्लब, नेपाल हवाई खेलकुद संस्था (ना) लगायतको सहयोग रहेको छ । प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन गरेका छन् । प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका २२ को सहकार्य रहेको प्रतियोगिताको मेडिकल पार्टनरमा नेलम्बो नेपाल, अफिसियल टेलिभिजनमा सिटीवान टेलिभिजन तथा अफिसियल रेडियोमा रेडियो सफलता जोडिएको छ । आधिकारिक ड्रिङ्किङ वाटरका रूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ ।
प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न गर्न करिब १६ लाख ९१ हजार रुपैयाँ खर्च हुने भएको प्रा.लि.का व्यवस्थापक सागर सुनारले बताए । प्रतियोगिताको प्रथम पुरस्कार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी लेफ्टिनेन्ट कुसाङ गुरुङले प्रायोजन गरेका छन् । अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष अवकाशप्राप्त गुरुङ मलेसियाको माउन्ट किनाबालु अन्तर्राष्ट्रिय क्लाइमाथन तीनपटक लगातार जित्ने कीर्तिमानधारी धावक हुन् । साथै एभरेष्ट म्याराथन लगायत थुप्रै प्रतिष्ठित दौडमा नेपालको नाम उजागर गर्न सफल प्रतिभा हुन् । यस्तैगरी, नेलम्बो नेपालले तेस्रो पुरस्कार समेत प्रायोजन गरेको छ ।







