पोखरामा शुक्रबार पहिलो पटक राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ हुने

-


     पोखरा क्लिक     
     भाद्र १२ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १२, भदौं,

पोखरामा पहिलो पटक राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ आयोजना हुने भएको छ । स्किल सेवा पोखराको आयोजनामा यही भदौ १३ र १४ गते अमरसिंह चौरमा उक्त महोत्सव हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

घर निर्माणसँग सम्बन्धित सबै सेवा र जानकारी एउटै छत मुनि उपलब्ध गराउने अवसरको रूपमा प्रस्तुत गरिएको स्किल सेवा पोखराका समन कुवंरले बताउनु भयो । महोत्सवमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, वास्तु शास्त्री, नगरपालिकाका अधिकारी, विद्यार्थी र आम उपभोक्ताहरुको सहभागी हुने भएको उहाँले जनाउनु भयो ।

साथै विभिन्न निर्माण सामग्री आपूर्तिकर्ता कम्पनी र बैंकका स्टल पनि राखिने भएको छ । कार्यक्रममा घर निर्माण गर्दा खर्च कम गर्ने उपाय, सिमेन्ट, इटा, डन्डी, ग्लास, टाइल्सको उपयुक्त प्रयोग, मजदुर व्यवस्थापन, डिजाइनदेखि अन्तिम चरणसम्मका प्रत्येक स्टेप–बाइ–स्टेप प्रक्रिया बारे जानकारी दिइने भएकोले घर बनाउन चाहनेहरुको लागि उक्त महोत्सव फलदायि हुने दाबी गरिएको छ ।

यसबाहेक प्रदर्शनीमा आधुनिक र परम्परागत डिजाइन, ऊर्जा बचत, खुला स्थानको सदुपयोग, हावापासको उचित व्यवस्थापन र गुणस्तरीय घर निर्माणका नवीनतम विचारहरू प्रस्तुत गरिने भएको छ । लगानी जुटाउने र साझेदारीका अवसरहरू समेत उजागर हुने भएकाले यस महोत्सवले समग्र आवास निर्माण क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने आयोजकले अपेक्षा गरेको छ ।

कार्यक्रम संयोजक कुंवरले भन्नुभयोे, “हरेक व्यक्तिको लागि घर जीवनको सबै भन्दा मूल्यवान सम्पत्ति हो, त्यसैले यसलाई सुरक्षित, भरपर्दो र दिगो बनाउनु अत्यावश्यक छ ।” दुई दिन चल्ने फेष्टमा करिब पाँच हजार भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ । फेष्टमा ३२ वटा स्टलहरु रहने भएको छ । पत्रकार सम्मेलनमा संस्थाका संचालक सताक्क्षि मिश्रा, मार्केटिङ म्यानेजर सफल प्रधानले पोखरामा पहिलो पटक हुने उक्त कार्यक्रमबाट धेरै पोखरेलीहरु लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।