पोखरामा पातञ्जल योग समिति नेपालको चौथो राष्ट्रिय महाधिवेशन शुक्रबार देखि सुरु हुदै

-


     पोखरा क्लिक     
     भाद्र १२ गते २०८२ मा प्रकाशित


पोखरा, भदौ १२,

शुन्दर नगरी पोखरामा पातञ्जल योग समिति नेपालको चौथो राष्ट्रिय महाधिवेशन शुक्रबार देखि सुरु हुने भएको छ । २०७५ असोज १५ गते स्थापना भएको उक्त संस्थाको पोखरामा यही भदौ १३ र १४ गते महाधिवेशन हुने तयारी गरिएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

पोखरा–११ रानीपौवास्थित रन्जित इभेन्ट सेन्टरमा चौथो राष्ट्रिय महाधिवेशन हुने भएको छ भने उक्त अधिवेशनको उद्घाटन हुनु पूर्व पोखरामा प्रभात फेरीको आयोजना हुने भएको केन्द्रिय सदस्य सपना गुरुङले पोखराक्लिकलाई बताउनु भयो ।
महाधिवेशनको अवसरमा वृहत योग विज्ञान शिविर सञ्चालन हुने भएको सरिता पहारीले बताउनु भयो । साथै भदौ १५ गते साँझदेखि १७ गतेसम्म मौन साधनासहित योग ध्यान तथा प्रशिक्षण शिविर हुनेछ ।

भदौ १३ गते अपरान्ह ३ः३० बजे “योगको विकासमा यौगिक संस्थाहरुको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ । महाधिवेशनको प्रमुख आकर्षण अन्तर्गत भदौ १४ गते बिहान योग प्रभातफेरी कार्यक्रम हुनेछ, जसमा धिमेबाजासहित प्रतिनिधि र सहभागीहरु सहभागि हुने भएको समितिका केन्द्रिय अध्यक्ष बालमुकुन्द सुवालले बताउनु भयो ।

महाधिवेशनको औपचारिक उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले गर्नु हुने भएको छ । साथै ‘योग बुलेटिन–२०८२’ र ४१३ पृष्ठको ‘पातञ्जल योग दर्शन पुस्तिका’ विमोचन गरिने कार्यक्रम रहेको छ । बन्दसत्रमा संस्थागत प्रगति प्रतिवेदन, भावी कार्ययोजना, आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछन् भने छलफलपछि आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गरिने भएको संयोजक एवं उपाध्यक्ष कमला गुरुङले बताउनु भयो ।