
दीननाथ बराल,
पोखरा, १० भदौ,
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकमार थापालाई तिज पर्वको दिन मंगलबार बिहानदेखि दिन भरजसो तिज मेला तथा महोत्सवमा भ्याई नभ्याई भएको थियो । नेपाली नारीहरुको महान पर्व लक्षित गरी पोखराको लेकसाइड देखि लामाचौर तथा बाटुलेचौरमा आयोजना भएका उक्त महोत्सवमा मन्त्री नै प्रमुख अतिथिको रुपमा रहेसंगै सबै कार्यक्रममा सहभागि हुन मन्त्री थापालाई भ्याई नभ्याई भएको हो ।
पोखराको लेकसाइडस्थित बाराहीघाट चौरमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ को उद्घाटन गर्दै उनी र्यालीमा समेत सहभागि भए । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा मंगलबारदेखि पोखरामा सुरु भएको उक्त महोत्सव भोलिसम्म चल्ने छ । पोखरामा तिज पर्वलाई महोत्सवको रुपमा स्थापित गराएको नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार सम्पन्न भएको लामाचौर तिज महोत्सवको समापन समारोहमा विभिन्न विधाका पुरस्कार वितरण गर्न मन्त्री थापा कार्यक्रममा पुगेका थिए ।
यसैबिच, ढुंगेदेउराली क्लबले रारा लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार फाइनलमा जिएम समाज कावासोतीलाई ३–२ सेटमा पराजित गर्दै उपाधिसहित नगद ३ लाख जितेको हो । उपविजेताले १ लाख ५० हजार प्राप्त गरेको छ । त्यस्तै बाटुलेचौर ऐतिहासिक तिज महोत्सवको समेत समापन गर्दै मन्त्री थापाले तिज पर्वलाई नेपाली परम्परा संस्कार एवं संस्कृति अनुसार मनाउन सुझाव दिए ।
मन्त्री थापा पोखराका मुख्य महोत्सवमा एकै व्यक्ति धेरै कार्यक्रममा प्रमुख अतिथि हुनुले उनको बिषयमा फरक फरक ढंगले हेर्न खोजिएको छ । केहीले कार्यक्रममा आवश्यक बजेट मन्त्रालयले व्यबस्था गरेका कारण मन्त्रीलाई नै प्रमुख अतिथि रोजेको बताएका छन भने केहीले मन्त्री पोखरा क्षेत्रमा लोकप्रिय भएका कारण निमन्त्रणा गरिएको जनाएका छन् । पोखरा क्षेत्रमा आयोजना हुने मेला महोत्सवमा निमन्त्रणा गरे पछि मन्त्री थापा प्रायः सहज ढंगले जाने गरेको उनकोे सचिवालयले जनाएको छ ।





