
दीननाथ बराल,
पोखरा, ७ भदौ,
पोखराको गण्डकी बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरू एकाएक बिरामी परेपछि गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले चासो देखाएको छ ।बिहिबार बिहानदेखि बेलुकासम्म तीन पटक खाजा तथा खाना सेवन गरेका होस्टेलका विद्यार्थीहरू मध्ये करिब ५० प्रतिशत भन्दा बढी, अर्थात् २ सय ५० जना भन्दा धेरै विद्यार्थी अचानक पेट दुख्ने, टाउको दुख्ने, वाकवाकी, उल्टी र डाइरियाजस्ता लक्षण देखिएपछि विद्यालय प्रशासन, अभिभावक र प्रदेश स्वास्थ्य मन्त्रालय सबैको चासो बढेको हो ।

बिद्यालय प्रशासनले शनिबार एक प्रेस विज्ञेप्ति जारी गर्दै आईतबारबाट निर्वात रुपमा पठन पाठन सुरु हुने बिद्यालयले विदा नदिएको जनाएको छ । मन्त्रालयले शनिबार केही बिरामी विद्यार्थीको दिशा नमुना संकलन गरी अनुसन्धान थालेको छ । तर अहिलेसम्म विद्यार्थी बिरामी पर्नुको ठोस कारण पत्ता लाग्न सकेको छैन । विद्यालयका निमित्त प्राचार्य कृष्णबहादुर थापाका अनुसार प्रयोगशालाबाट प्राप्त हुने रिपोर्टकै आधारमा मात्र घटनाको वास्तविक कारण थाहा हुने छ । बिहिबार बिरामी भंएका अधिकांश बिद्यार्थीहरु शनिबार देखि सामान्य अस्थामा आएको निमित्त प्राचार्य थापाले पोखराक्लिकलाई बताए ।
विद्यालयमा करिब ५ सय आवासीय विद्यार्थीमध्ये ठूलो संख्यामा एकैपटक बिरामी भएपछि अभिभावकमा त्रास फैलिएको थियो । प्रारम्भिक आशंका भने खानासम्बन्धी समस्या भएकोतर्फ केन्द्रित छ । “बिहिबार खाजा र बेलुकाको खानामा गेडागुडी, समोसा, भुजा, कुखुराको मासु र पनिर व्यवस्था गरिएको थियो,” विद्यालयका हेड कुक ख्यामनारायण ढकालले बताए । विगत २३ वर्षदेखि विद्यालयमा कार्यरत ढकालले खाना धेरै (हेवी) भएको कारणले पनि समस्या निम्त्याएको हुनसक्ने अनुमान गर्दै घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान आवश्यक रहेको बताए ।
यता, अभिभावकहरूले भने यो घटनाको गम्भीर छानबिन गरी विद्यार्थीहरूको स्वास्थ्यसँग खेलवाड गर्नेप्रति कडा कारबाहीको माग गरेका छन् । हाल अधिकांश विद्यार्थीहरूको स्वास्थ्यमा सुधार आएको विद्यालयले जनाएको छ । केहीलाई आफन्तको जिम्मा लगाएर घर पठाइएको छ भने धेरैजना विद्यालयको हेल्थ सेन्टरमा उपचारपछि सामान्य अवस्थामा फर्किएका छन् ।



