
पोखरा,
गण्डकी प्रदेशमा एकीकृत करियर बुथ स्थापना सुरु गरिएको छ । काठमाण्डौ विश्वविद्यालय र स्विजरल्याण्डको इटीएच जुरिचको साझेदारीमा सञ्चालन भइरहेको शिक्षा प्रणाली कार्यशाला (i-Lab) नेपाल कार्यक्रम अन्तर्गत प्रदेशका १० स्थानमा परीक्षण स्वरूप करियर बुथ स्थापना गरिएको हो ।
करियर बुथ स्थापना तथा सञ्चालनका लागि विभिन्न शैक्षिक र व्यवसायिक संस्थासँग समझदारी गरिएको छ । ती संस्थामा गण्डकी प्रदेश सरकार रोजगार सूचना केन्द्र, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् गण्डकी, व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिका, वालिङ नगरपालिका (स्याङ्जा), माछापुच्छ्रे गाउँपालिका (कास्की), पोखरा प्राविधिक शिक्षालय फुलबारी, किसान प्राविधिक शिक्षालय (स्याङ्जा), उद्योग वाणिज्य महासंघ गण्डकी, पोखरा भ्याली टेक्निकल इन्स्टिच्युट रानीपौवा र व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगर रहेका छन् ।
करियर बुथ सञ्चालन गर्ने कर्मचारीका लागि आइतबार पोखरामा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । अभिमुखीकरणमा करियर बुथको मोडालिटी, सञ्चालन र परामर्श प्रणालीबारे जानकारी दिइएको थियो ।
आइल्याब गण्डकीकी संयोजक कविता तिवारी गैरेका अनुसार, नेपालमा प्राविधिक तथा व्यवसायिक शिक्षा र तालीमलाई सुदृढ बनाउन यो कार्यक्रम सञ्चालन गरिएको हो । यसैगरी एन्बीक्यूएस परियोजना गण्डकीका प्रबन्धक चन्द्रप्रसाद तिमिल्सीनाले काठमाण्डौ विश्वविद्यालयले आह्वान गरेको निवेदनको आधारमा गण्डकी टिम छनोट भएको जानकारी दिए ।
करियर बुथमार्फत स्थानीय युवालाई रोजगारी, सीपमूलक तालिम र करियर परामर्शमा पहुँच बढाउने अपेक्षा गरिएको छ । व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरका कार्यकारी निर्देशक नवराज अधिकारीले, “महानगरमा समेत बुथ स्थापना भएपछि युवाले रोजगारी, सीपमूलक तालिम र करियर परामर्श सहज रूपमा पाउनेछन्,” बताए ।




