
पोखरा, १५ भदौ,
तीज भन्नासाथ रातो सारी, मिठा परिकार, नाचगान र रमाइलोको झल्को आउँछ । तर, पोखरा–१३ का केही आमाहरुले यसपटक तीजको खुसीलाई सामाजिक उत्तरदायित्व सम्झेका छन् । देशमा आइपरेको विपद्को पीडामा मलम लगाउने उद्देश्यले उनीहरूले तीजका लागि जुटाएको रकम उद्धार कोषमा जम्मा गरेका छन् ।
पोखरा महानगरपालिका–१३, बी.पी. मार्ग ‘ख’ आमा समूहले तीज मनाउनका लागि संकलन गरेको एक लाख पाँच हजार पाँच रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमवार जम्मा गरेको हुन् । विपद्को कठिन घडीमा चाडपर्वको रमझमभन्दा मानवीय धर्म ठूलो हुने महसुस गर्दै समूहले तीजका लागि छुट्याएको रकम पीडितको सहयोगमा खर्च गर्ने निर्णय गरेका हुन् । वीपी मार्ग ख आमा समूहकी अध्यक्ष सीता कोइरालाले विपद्को समयमा पीडितको साथमा उभिन पाउनु नै आफूहरूका लागि सबैभन्दा ठूलो खुसी भएको बताइन । “तीजको रमाइलो एक दिनको हुन्छ, तर हाम्रो सानो सहयोगले कसैको दुःखमा आशाको दीप बाल्न सक्छ,” भन्ने भावनाका साथ रकम कोषमा जम्मा गरिएको अध्यक्ष कोइरालाले भनिन् । अध्यक्ष कोइरालाले विपद्को समयमा सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न अनुरोध गरिन् । आमाहरुले देखाएको यो कदमले तीजको रंगलाई अझ गाढा बनाएको छ ।




