
पोखरा,
पोखरामा पाल्पाको ऐतिहासिक लाखे नाच प्रदर्शन गरिएको छ । सिटिजन फर्निचरको आयोजना एवं पाल्पाली समाज पोखराको व्यवस्थापनमा आइतबार पोखराको न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि उक्त नाच देखाइएको हो । राति ७ बजेदेखि सुरु भएको नाच हेर्न पोखरेलीको ठूलो संख्यामा भिड लागेको थियो ।
सिटिजन फर्निचरका संचालक युवा व्यवसायी दीपक कार्कीले पाल्पा र पोखराबीच कला, संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले तेस्रो संस्करणको रुपमा उक्त नाच देखाइएको बताए । मनोरञ्जनात्मकभन्दा पनि सांस्कृतिक एवं ऐतिहासिक महत्वको रुपमा नियमित कार्यक्रमअन्तर्गत उनको आफ्नै गाउँ पाल्पा भैरवस्थानबाट नाखे नाचको टोली आइतबार दिउँसो आएको थियो । टोलीमा ४२ जना कलाकार सदस्य सहभागी थिए । टोलीलाई फर्निचर परिवारले २ लाख सहयोग उपहार प्रदान गरेको छ । दर्शकलाई पाल्पा रिब्दीकोट ४ स्थित प्रसिद्ध भैरवस्थान मन्दिरको रोट, टीका, प्रसादसहित पाल्पाली परम्परागत परिकार बटुक र चुकाउनी दिइएको थियो । अधिकांश दर्शक रमाइलो मानेर नाचको भिडियो, फोटो खिच्नमै व्यस्त देखिन्थे ।
कार्यक्रम संयोजक श्यामनाथ कुँवरले यसबाट पाल्पा र पोखराबीच साँस्कृतिक आदानप्रदानसँगै पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने बताए । कार्यक्रम संचालन पाल्पाली समाज पोखराका अध्यक्ष श्रीधर पराजुलीले गरेका थिए । पाल्पाली राजा मणिमुकुन्द सेनले राज्य बिस्तारक्रममा काठमाडौं आक्रमण गर्दा त्यहाँको कला संस्कृतिबाट प्रभावित भएपछि पाल्पामा पनि नेवार समुदायका विभिन्न जात्रा एवं पर्वको प्रचलन भित्राएको किंबदन्ती छ । उनले युद्ध जितेपश्चात मछिन्द्रनाथको पटाङ्गिनीमा रहेको भैरव मूर्तिलगायत केही कलासंस्कृति एवं काष्ठकलामा निपूर्ण नेवार समुदायलाई पनि सँगै पाल्पा लिएर आएका थिए । ५०० वर्ष पुरानो इतिहास बोकेको उक्त नाच तानसेन एवं भैरवस्थानमा नेवार समुदायबाट गुठी स्थापना गरी चलनचल्ती सुरु गरेको पाइन्छ । पाल्पाको लाखे नाच अन्य ठाउँको तुलनामा बाजाको ताल, नाच्ने कलामा फरक पाइन्छ । घट्दो जनसंख्याका कारण नेवारी समुदायले मात्र नाच धान्न नसकेपछि अचेल भैरवस्थानका क्षेत्री, मगर तथा दलित समुदाय एकजुट भएर पुरानो नाच जोगाइराखेको अनिलकुमार प्रधानले बताए ।




