बाढीपीडितका लागि राहत जुटाउँदै सांसद पौडेल, २६ लाख बराबरको सामग्री संकलन

-


     पोखरा क्लिक     
     भाद्र १६ गते २०८३ मा प्रकाशित


पोखरा,

बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत सामग्री जुटाउने अभियानलाई तीव्रता दिँदै सांसद उत्तम पौडेलले करिब २६ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गर्नुभएको छ। गृहलक्ष्मी ग्यास कम्पनीका अध्यक्ष धर्मराज बतौलाको पहलमा बाढीपीडितका लागि ५०० बोरा चामलसहित लत्ताकपडा, चाउचाउ, बिस्कुट, म्याट्रेसलगायतका अत्यावश्यक राहत सामग्री उपलब्ध गराइएको छ। उक्त राहत सामग्री सांसद पौडेललाई हस्तान्तरण गरिएको हो।

गृहलक्ष्मी ग्यास कम्पनीकी मुख्य डिलर शुभ चेरिस्मा प्रा.लि.का संचालक सीता बराल सहितको टोलीले राहत सामग्री सांसद पौडेललाई हस्तान्तरण गरेको जनाएको छ। राहत सामग्री सहयोग गरेकोमा सांसद पौडेलले कम्पनीका अध्यक्ष बतौला, निर्देशक एशोधा बतौला प्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। सांसद पौडेलले विपद्को समयमा प्रभावित नागरिकको साथमा राज्य र जनप्रतिनिधि रहेको बताउँदै राहत तथा उद्धारका काममा आफू सक्रिय रूपमा लागिरहेको बताउनुभयो। यसैबीच, सांसद पौडेलको सक्रियतामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला कमिटी कास्की र र्याट गण्डकीको सहकार्यमा करिब २६ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरिएको छ। संकलित राहत सामग्रीमध्ये निभार नेहा इन्टरप्राइजेजका सञ्चालक विष्णुबहादुर थापाले करिब २५ लाख रुपैयाँ बराबरको सामग्री सहयोग गर्नुभएको छ भने हिमश्री फुडका सञ्चालक किरण केसीले करिब १ लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउनुभएको छ।

सहयोगी दुवै व्यवसायीप्रति धन्यवाद व्यक्त गर्दै सांसद पौडेलले विपद्का बेला जनप्रतिनिधिले गर्नुपर्ने जिम्मेवारीअनुसार आफू राहत तथा सहयोगका कार्यमा निरन्तर सक्रिय रहेको बताउनुभयो। “विपद्मा परेका नागरिकको साथमा राज्य छ, हामी छौँ। जनप्रतिनिधिले विपद्का बेला के–कसरी काम गर्नुपर्ने हो, त्यसैअनुसार अगाडि बढिरहेका छौँ,” सांसद पौडेलले भन्नुभयो। सांसद पौडेलका अनुसार राहत सामग्री संकलन अभियान भोलि पनि जारी रहनेछ। राहत सामग्री सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले ९८५६०३६६१० मा सम्पर्क गर्न सक्ने उहाँले बताउनुभएको छ। नगद सहयोग गर्न चाहनेलाई भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषरप्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न सांसद पौडेलले आग्रह गर्नुभएको छ।