लेकसिटीका विद्यार्थी पढाइसँगै पीडितको घाउमा मलम लगाउँदै

-


     पोखरा क्लिक     
     भाद्र १५ गते २०८३ मा प्रकाशित


पोखरा, १५ भदौ,

कक्षाकोठामा सामाजिक कार्यको पाठ पढिरहेका विद्यार्थीले त्यही ज्ञानलाई व्यवहारमा उतार्दै विपत्तिमा परेका नागरिकको पीडामा मलम लगाउने प्रयास गरेका छन् । पोखराको गैरापाटन स्थित लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरमा सामाजिक कार्य (बिएएसडब्लु) अध्ययनरत विद्यार्थीहरूले भोटेकोसी बाढीपीडितका लागि राहत सामग्री संकलन गरी हस्तान्तरण गरेका छन् ।

भोटेकोसीमा गत १० भदौमा आएको बाढीले धेरै नागरिकको जनजीवन प्रभावित भएपछि विद्यार्थीहरू सहयोगको भावनासहित राहत संकलन अभियानमा जुटेका थिए । आफूले सक्ने सहयोग जुटाउँदै उनीहरूले संकलन गरेको खाद्यान्न, लत्ताकपडा तथा स्वास्थ्य र सरसफाइका सामग्री सोमबार पोखरा महानगरपालिकाले पोखरा प्रदर्शनी केन्द्रमा सञ्चालन गरेको आधिकारिक राहत सामग्री संकलन केन्द्रमा पुगेर हस्तान्तरण गरेका हुन् । ‘बाढीको विपत्तिमा परेका नागरिकलाई थोरै भए पनि राहत र राहतको महसुस पुगोस् भन्ने उद्देश्यले हामीले सामग्री संकलन गरेका हौं,’ बिए द्धित्तिय वर्षमा अध्ययनर्र इविक कर्माचार्यले पोखरापत्रलाई वताए । विद्यार्थीहरूले राहत सामग्रीमा तत्काल आवश्यक पर्ने खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुलाई प्राथमिकता दिएका छन् । उनीहरूले १० केजीका दरले पाँच बोरा तथा थप दुई साना बोरामा ५० प्याकेट सोयाबिन, दुई कार्टुन बिस्कुट, २० प्याकेट दालमोट, तीन बोरा चिउरा र दुई बोरा भुजा संकलन गरिएको कर्माचार्यले भने ।

त्यसैगरी, बाढी प्रभावित नागरिकको स्वास्थ्य तथा व्यक्तिगत सरसफाइलाई समेत ध्यान दिँदै विद्यार्थीहरूले १ सय २० थान मञ्जन, १ सय २० थान ब्रस र १ सय २० थान नुहाउने साबुन पनि राहतस्वरूप उपलब्ध गराएका छन् । विद्यार्थी सफल सुवेदीका अनुसार राहतमा दैनिक जीवनमा आवश्यक पर्ने सामग्रीलाई प्राथमिकता दिइएको पोखरापत्रलाई भने । कक्षाकोठामा सिकेको सामाजिक सेवाको अर्थलाई व्यवहारमा उतार्दै विद्यार्थीहरूले देखाएको यो सक्रियताले शिक्षा केवल किताबका पानामा सीमित हुँदैन, मानवताको सेवामा प्रयोग हुँदा त्यसको अर्थ अझ गहिरो हुन्छ भन्ने सन्देश दिएको छ । बाढीले घर–आँगन उजाडिएका र दुःखमा परेका नागरिकका लागि विद्यार्थीले जुटाएको सहयोग मात्रा सानो हुन सक्छ, तर त्यसमा जोडिएको संवेदना र मानवीय भावना भने ठूलो छ ।