गण्डकी प्रदेश खेलकुद परिषदद्वारा चार समिति गठन, केही केन्द्रिय संघलाई मान्यता नदिने निर्णय

-


     पोखरा क्लिक     
     श्रावण ३० गते २०८२ मा प्रकाशित


CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

पोखरा, साउन ३०,

गण्डकी प्रदेशको प्रदेश खेलकुद परिषदले खेलकुद गतिविधि प्रभावकारी बनाउन चार वटा नयाँ समिति गठन गरेको छ । आज (शुक्रबार) परिषदको सभाहलमा सम्पन्न बैठकले प्रदेश खेल संघ समन्वय समिति, टेक्निकल समिति, रेफ्रि समिति र प्रतियोगिता व्यवसायिक प्रवर्द्धन अध्ययन समिति गठन गरेको परिषदका सदस्य सचिव श्रीधर शर्माले पोखराक्लिकलाई बताए ।

प्रदेश खेल संघ समन्वय समितिको अध्यक्षमा केशव पाठक र सचिवमा अन्तर्राष्ट्रिय आर्चरी खेलाडी योगेन्द्र शेरचन चयन भएका छन्। टेक्निकल समितिको संयोजकमा पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी हरिप्रसाद पराजुली र सचिवमा पूर्व राष्ट्रिय खेलाडी लेखनाथ लम्साल छन्। रेफ्रि समितिको संयोजकमा ह्याण्डबलका राष्ट्रिय रेफ्रि चित्रबहादुर थापा र सचिवमा प्रदेश सेपाकताक्रो संघका अध्यक्ष श्यामबहादुर श्रेष्ठ चयन भएका छन्।

त्यस्तै, प्रतियोगिताको व्यवसायिक प्रवर्द्धन अध्ययन समितिको संयोजकमा जगनबहादुर गुरुङ र सदस्यमा पवन प्रजापती, महेश पौडेल, निलकण्ठ ढकाल र डिवी नेपाली रहेका छन्। सबै समितिहरु सात–सात सदस्यीय हुने र बाँकी सदस्य पछि पूर्ति गरिने परिषदका सदस्य–सचिव श्रीधर शर्माले जानकारी दिए। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

बैठकमा गण्डकी प्रदेशमा वैधानिक मान्यता प्राप्त खेल संघहरुलाई सहभागी नगराई काठमाडौंमा सम्पन्न केही केन्द्रिय खेल संघका अधिवेशनमा पदाधिकारी निर्वाचित गरिएकामा आपत्ति जनाइएको छ। यसलाई संघीयताको मर्म विपरीत ठहर गर्दै नेपाल साइक्लिङ संघ, नेपाल एथलेटिक्स संघ, नेपाल पौडी संघ र नेपाल बास्केटबल संघ लगायतका केन्द्रिय संघका पदाधिकारीलाई प्रदेश भित्र मान्यता नदिने निर्णय गरिएको हो।

साथै, ती संघहरुले गण्डकी प्रदेशमा सञ्चालन गर्ने कुनै पनि कार्यक्रमलाई मान्यता नदिइने परिषद्ले स्पष्ट पारेको छ। “प्रदेशको अधिकार र संरचनालाई बेवास्ता गर्ने गतिविधि सह्य नहुने” चेतावनी दिँदै सदस्य–सचिव शर्माले यस कदमलाई नेपाली खेलकुदकै हितमा आवश्यक रहेको बताए। सायद यस्तो कठोर निर्णय गर्ने सातै प्रदेशमध्ये गण्डकी प्रदेश खेलकुद परिषद सम्भवतः पहिलो हो।