
पोखरा,
पोखरा–९, वास्तोलाथरमा रहेको गुरुकुल विद्या सदन माध्यमिक विद्यालयले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा बिद्यार्थी सहित ४६ जनाले रक्तदान गरेका छन् । बिद्यालयको सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयले वार्षिक कार्यतालिका अनुसार रक्तदान गरेको हो ।

गण्डकी प्रादेशीक रक्त संचार सेवा पोखराको प्राविधिक सहयोगमा बिद्यालयमा भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं।९ का अध्यक्ष दीपेन्द्र मर्सानीले गुरुकुल पोखराकै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा रहेको उल्लेख गर्दै विद्यालयले अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ठता हासिल गर्दै आइरहेको जनाए । रक्तदान जीवनदान भएको धारण राख्दै वडाध्यक्ष मर्सानीले विद्यार्थी पनि रक्तदान गर्न हौसिएकोमा खुशी व्यक्त गरे।
मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडोवेइलले रक्तदानको महत्व माथि प्रकाश पार्दै विरामी भएपछि मात्रै अस्पताल जाने परिपार्टीलाई अन्त्य गर्नुपर्ने सुझाए। उनले मणिपाल र गुरुकुल बीच स्वास्थ्य उपचार सुविद्यामा सम्झौता भएकोमा खुशी व्यक्त गर्दै अस्पताल अधिकत्तम सेवा दिन तयार रहेको स्पष्ट पारे।
विद्यालय संचालन समितिका अध्यक्ष रवि कार्कीले स्वास्थ्य सेवा मार्फत गुरुकुल, मणिपाल एक हुन पाएकोमा खुशी व्यक्त गर्दै रक्तदाता प्रति आभार प्रकट गरे।उनले विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीलाई सम्झौताबाट अधिकत्तम स्वास्थ्य लाभ लिन पनि आग्रह गरे ।
प्रधानाध्यापक भुवन सुवेदीले विद्यालयले शिक्षाका अलवा मानवीय सेवाका गतिविधीलाई प्राथमिकता दिइरहेको भनाई राख्दै आगामि दिनमा पनि त्यस्ता गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
प्रादेशिक रक्त संचार सेवा पोखराका प्रमुख अर्जन ज्ञवालीले रेडक्रसले थालेको ‘जन्मदिनमा गरौं रक्तदान’ अभियान माथि प्रकाश पार्दै सबै भन्दा मानवीय भावना महत्वपूर्ण हुने धारणा राखे।उनले केक काटी जन्मदिन मनाउने प्रचलनको अन्त्य गर्नुपर्नेमा जोड दिर्दै रक्तदान सबै भन्दा महत्वपूर्ण दान भएको उल्लेख गरे। बर्षमा कम्तिमा एक दिन जन्म दिनको अवसरमा रक्त संचार सेवामा आउन उनले पोखराक्लिक समक्ष आग्रह गरे । विद्यालय अध्यक्ष कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा दश जोड २ संयोजक वसन्तकुमार श्रेष्ठले स्वागत तथा शिक्षिका सलिताज कुँवरले कार्यक्रम संचालन गरिन्।





