इजी ग्रुप्सको बाषिकोत्सवमा आयोजित रक्तदान कार्यक्रमबाट ६२ युनिट रक्त सङ्कलन

-


     पोखरा क्लिक     
     असार ३ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, ३ असार,

पोखराको प्रतिष्ठित इजी ग्रुप्सको ११ औं वार्षिकोत्सवको अवसरमा पोखरामा आयोजना भएको खुल्ला रक्तदान कार्यक्रमबाट ६२ युनिट रक्त सङ्कलन भएको छ । इजी ग्रुप्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आज (मंगलबार) आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेको इजी ग्रुप्सका अध्यक्ष राम कँडेलले पोखराक्लिकलाई बताउनु भयो ।

२०७१ साल असार ३ गते स्थापना भएको उक्त ग्रुप्सले व्यवसायसँगै सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले संस्थाको स्थापना कालदेखि नै व्यवसायिक क्षेत्रमा सशक्त उपस्थिति जनाउँदै सामाजिक कार्यहरूमा समेत निरन्तर योगदान पु¥याउँदै आएको उहाँले बताउनु भयो । व्यवस्थित र प्रभावकारी रूपमा यस्ता जनहितका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष कँडेलले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रक्तदान कार्यक्रममा पोखरा ब्लड बैंकको प्राविधिक टोली तथा विभिन्न संघसंस्थाहरूको सहकार्य रहेको थियो। वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा इजी ग्रुप्स परिवारका कर्मचारी, उद्योगी व्यवसायी, विभिन्न संघसंस्था, सामाजिक व्यक्तित्व, शुभेच्छुक तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको संस्थाले जनाएको छ । उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले मानव जीवनमा रक्तदान गर्न र मावनीय कार्यमा जुट्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवाका अर्जुन ज्ञवाली, अधिकृत विक्रेता संघ पोखराका अध्यक्ष मनोज श्रेष्ठ, आकस्मिक रक्तदान युनिट पोखराका अध्यक्ष हरिशचन्द्र शर्मा र पोखरा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष बलराम आचार्य विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो । इजी ग्रुप्स अन्तर्गत इजी फ्यासिलिटिज प्रा.लि., इजी ट्रेडिङ प्रा.लि., चौतारी बुटिक होटल, राष्ट्रिय पोशाक घर, चौतारी इन्टरनेसनल, गोर्खाल्यान्ड सेक्युरिटी ग्रुप लगायतका कम्पनीहरू सञ्चालन गर्दै आएको छ । हाल इजी ग्रुप्समा करिब १ हजार बढी कर्मचारीहरू आबद्ध रहेका छन्।

समूहले हस्पिटालिटी, सेवा व्यवस्थापन, ट्रेडिङ, सेक्युरिटी सेवा, गार्मेन्ट्स तथा अन्तर्राष्ट्रिय व्यापार लगायत विभिन्न क्षेत्रमा व्यवसाय गर्दै आएको छ । नेपालको पर्यटनको राजधानि पोखराको पर्यटन प्रबद्र्धन गर्न इजी ग्रुप्सले महत्वपूर्ण भूमिका खेल्दै आएको कँडेलले जनाउनु भयो ।