
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री डा. टकराज गुरुङले आगामी वर्षको लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो।

यो बजेटमध्ये १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ चालू खर्चका लागि विनियोजन गरिएको छ, जुन कुल बजेटको ३९.५ प्रतिशत हो। १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ पूँजीगत खर्चतर्फ छुट्याइएको छ, जसको हिस्सा ५९.७ प्रतिशत रहेको छ। वित्तीय व्यवस्थातर्फ भने २५ करोड रुपैयाँ अर्थात ०.८ प्रतिशत मात्र विनियोजन गरिएको छ।
मन्त्री गुरुङले आगामी वर्ष १ करोड ५४ लाख ५२ हजार रुपैयाँ सञ्चित कोषमाथिको व्ययभार रहने प्रक्षेपण समेत गर्नुभएको छ।
बजेट खर्चको स्रोतका रूपमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ७३ करोड ८९ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ७९ करोड २९ लाख ४० हजार, रोयल्टी बाँडफाँटबाट ४९ करोड ८९ लाख ७७ हजार, सशर्त अनुदानतर्फ ३ अर्ब ३५ करोड ६४ लाख, समपूरक अनुदान ६३ करोड ९७ लाख र विशेष अनुदान ४९ करोड ८६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
आन्तरिक स्रोततर्फ ५ अर्ब ४५ करोड ८४ लाख ८८ हजार रुपैयाँ बराबरको आम्दानी हुने अपेक्षा गरिएको छ।
हालको आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएको थियो। त्यसको तुलनामा आउँदो वर्षको बजेट ९९ करोड ८५ लाख ७६ हजारले घटाइएको हो। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कुल बजेटको ४८.०६ प्रतिशत मात्र खर्च भएको विवरण पनि अर्थमन्त्रीले प्रस्तुत गर्नुभयो।
उहाँले बजेट समावेशी, दिगो तथा सन्तुलित विकासमा केन्द्रित रहेको भन्दै कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र पूर्वाधारजस्ता प्रमुख क्षेत्रहरूमा प्राथमिकता दिइएको जानकारी दिनुभयो।



