माया तिमीमा उदाए रोहनजंग कार्की

-


     पोखरा क्लिक     
     मंसिर १६ गते २०८१ मा प्रकाशित


गायक रोहनजंग कार्कीले आफ्नो तेस्रो गीत ‘माया तिमी’ सार्वजनिक गरेका छन् ।
उक्त गीतको म्यूजिक भिडियो रोहनजंग कार्कीको युट्युब च्यानलबाट शनिवार एक समारोहबीच सार्वजनिक गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकालले उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।

पद्मराज ढकालले रोहन आफ्ना विद्यार्थीसमेत भएको बताउँदै उनको गीतसंगीतप्रतिको लगावको उपज तेस्रो गीत सार्वजनिक भएको बताए । उनले सुनसुकै क्षेत्रमा पर्याप्त साधनालले मात्र पूर्णता प्राप्त गर्ने भएकाले निरन्तर साधनामा लाग्न सुझावसमेत दिए ।
प्राध्यापक कुञ्जराज थापाले विगतका दिनमा गाउँ समाजमा छोराछोरीका कुराकानी चलाउँदा विशेष कला के क्षेत्रमा छ भनेर प्रश्न गर्ने गरिएको स्मरण गर्दै रोहनमा गायन तथा अभिनय कला उत्कृष्ट रहेको बताए ।

प्रा.डा.यामबहादुर पौडेल क्षत्रीले रोहनजंग कार्कीको गायन यात्रा सफल भएको धारणा राखे ।

पोखरा सांगीतिक कलाकार संघका सचिव तथा डिमर्चा व्याण्डका भोकलिष्ट भाष्करध्वज श्रेष्ठले
कलाकारलाई सम्मान गर्नुपर्ने मानसिकताको विकास हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतमले रोहनको गीतमा मौलिक, संस्कार, संस्कृति, राष्ट्र, राष्ट्रियता, सभ्यता र पहिचान सबै अटाएको धारणा राखे ।

कवि सरस्वती श्रेष्ठ सरुले रोहनजंग कार्कीसँग आफू बच्चैदेखि परिचित रहँदै आएको स्मरण गर्दै गीतको सफलताको कामना गरिन् ।
क्षत्री समाज पोखरा–१६ का सचिव गोविन्द थापाले हरेक क्षेत्रमा लाग्ने प्रतिभालाई प्रोत्साहनको जरुरत रहने बताए ।
कलाकार रोहनजंग कार्कीले पोखरामै बसेर, पोखरा आसपासमै पनि उत्कृष्ट म्यूजिक भिडियो निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि आफू निरन्तर लाग्दै आएको बताए ।

नविन वक्सका डाइरेक्टर नविन थापाले म्यूजिक भिडियोको छायाङ्कन पर्यटकीय गाउँ सिक्लेसमा गरिएको जानकारी गराउँदै छोटो दुरी, समय र सर्वसुलभ मूल्यमा पनि स्तरीय म्यूजिक भिडियो निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिन आफूहरू निरन्तर क्रियाशील रहेको बताए ।

२०७३ सालमा ‘कहिले आऊ’ र २०७७ सालमा ‘कान्छी ओ कान्छी’ गीत ल्याइसकेका कार्की गोल्डेन आइडल–२०७० गण्डकीका बिजेतासमेत हुन् । कार्कीको स्वरमा रहेको उक्त गीतमा शब्द र संगीत अमीत गुरुङको रहेको छ । यसैगरी गीतको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ पल्स रेकर्डिङ स्टुडियो पोखराले गरेको छ ।

म्यूजिक भिडियोको दृश्याङ्कन, निर्देशन र सम्पादन नविन थापाले गरेका हुन् । गीतमा जीवन वाग्ले र अशु गुरुङलगायतका कलाकारको अभिनय छ । भिडियो सार्वजनिक कार्यक्रम नविन वक्सको आयोजनामा सम्पन्न भएको हो ।