पोखरामा हुने तेस्रो क्रसकन्ट्री दौड प्रतियोगिताको तयारी अन्तिम चरणमा

-


     पोखरा क्लिक     
     कार्तिक १५ गते २०८१ मा प्रकाशित


पोखरा १५, कार्तिक,

पोखरामा हुने तेस्रो क्रसकन्ट्री दौड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । तिहार पर्व लगत्तै कातिृक २४ गते हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक हिमालयन टुरिजम फोरमले जनाएको छ । प्रतियोगितामा नेपाल र चीनका खेलाडीहरू सहभागी हुने भएका छन्।

दौडका विभिन्न ४ विधामा प्रतिस्पर्धा हुनेछ । टिम समूह ५० किमी, च्यालेन्ज इन्डिभिजुअल समूह ५० किमी, विद्यार्थी दौड ५ किमी र ह्यप्पी रन समूहमा २ किमी दौड हुनेछ । टिम समूहको विजेताले ४ लाख ५८ हजार, दोस्रोलाई ३ लाख ४३ हजार, च्यालेन्ज इन्डिभिजुअलको विजेता महिला र पुरुषले १ लाख ५२ हजार पाउनेछन् । विद्यार्थी तर्फको स्पर्धामा विजेताले ३० हजार पाउनेछन् ।

५० किमी पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर छोरेपाटन, रामदी, फुस्रेखोलाहुँदै स्याङ्जाको फेदीखोला, पोखरा २२ पुम्दीभुम्दी, स्तूपाबाट फेवाताल पाम हुँदै पुन बाराहीघाट आएर समापन हुनेछ । प्रतियोगितामा सहभागी हुने चिनियाँ खेलाडी जहाज चार्टर गरेर कुन्मिनबाट पोखरा आउनेछन् ।

अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता भएकोले यसबाट पोखराको समग्र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने नगर प्रमुख धनराज आचार्यको विश्वास छ । पोखरा नेपालको पर्यटन राजधानी सहर भएकाले पनि यसको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धनका लागि यस प्रकारका क्रियाकलापहरूले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई छ । पोखराको पर्यटनलाई दिगो बनाउन र अन्तर्राष्ट्रिय बजारसम्म पोखरालाई जोड्नका लागि महानगरपालिकाले अन्तर्राष्ट्रिय स्तरका विभिन्न क्रियाकलापहरूमा साझेदारी गर्दै आइरहेको छ । पोखरा क्रसकन्ट्रीका अलवा इन्ड्युरो साइकल रेस, ड्रागन बोट रेस, ट्रयोथलन, प्याराग्लाइडिङ लगायतका अन्तर्राष्ट्रिय स्तरका थुप्रै प्रतियोगिताहरू पोखरामा सञ्चालन हुँदै आएका छन् ।

यसैबिच बिहीबार कास्की जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरूसँग आयोजक संस्था र पोखरा महानगरपालिकाले तयारी बैठक सम्पन्न गरेका छन् । नगर प्रमुख आचार्यको अध्यक्षतामा सम्पन्न बैठकमा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, पश्चिम पृतना हेडक्वाटर विजयपुरका मेजर जनरल सन्तोष वल्लव पौड्याल, सशस्त्र प्रहरीको कालिका गण मालेपाटनका प्रमुख गणपति एसपी अरुण कुमार शर्मा, हिमालयन टुरिजम फोरमका अध्यक्ष विश्वशंकर पालिखे, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी लगायत पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
अन्तर्राष्ट्रियस्तरको सो प्रतियोगिताले पोखराको खेल पर्यटनको प्रबद्र्धन हुने दाबी गरिएको छ ।