
दीननाथ बराल,
पोखरा १०, कार्तिक,
आठौं संस्करणको गोदावारी पुष्प प्रदर्शनी तथा पाँचौ गण्डकी प्रादेशिक पुष्प मेला २०८१ यही कार्तिक १२ गते (सोमबार) देखि पोखरामा हुने भएको छ । फ्लोरिकल् एशोसिएसन नेपाल जिल्ला समिति (फ्यान) कास्कीको आयोजनामाा यही कार्तिक १२ देखि १६ गतेसम्म पोखरा प्रर्दशनी केन्द्रमा उक्त मेला हुने भएको आज (शनिबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
यस प्रदर्शनीमा व्यवसायीक स्टल २० वटा कृषि सामग्री स्टल २ वटा र सूचना मूलक १ वटा गरि जम्मा २३ वटा प्रदर्शनी कक्षहरु रहने भएको फ्यान कास्कीका अध्यक्ष राम प्रसाद सुवेदीले बताउनु भयो । यस मेलामा नेपालमा विगत वर्षदेखि नै व्यवसायीक उत्पादन हुदै आएका विविध जातका गोदावारी फुल विरुवाहरुको साथै यस वर्ष भित्रिएका गोदावारी फुलका नयाँ प्रजातीका फूल विरुवा समेत प्रदर्शनी तथा बिक्री वितरण हुने भएको उहाँले जनाउनु भयो । यसका साथै यस सिजनमा फुल्ने सयपत्री मखमली तथा अन्य सिजन्ल फूल विरुवाहरुको समेत प्रदर्शनी समावेश हुने भएको अध्यक्ष सुवेदीले जनाउनु भयो ।
नेपालीहरुको दोस्रो महान चाड तिहार तथा छठ पर्वलाई लक्षीत गरि पुष्पका पारखी तथा पुष्प ग्राहक वर्गलाई सहज रुपमा फूल विरुवाहरु उपलब्ध गराउन घर आगन बगैंचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फुलको सहज उपलब्धता गराउन उक्त मेलाले सहयोग पुग्ने पूर्व अध्यक्ष दयाकुमार द्धवाले बताउनु भयो । पोखराको पहिचान व्यवसायीक प्रर्वधनमा गोदावारीको शान भन्ने मुल नाराका साथ आठौं गोदावारी पुष्प प्रदर्शनी तथा पाँचौ गण्डकी प्रादेशिक पुष्प मेला २०८१ म यस बर्ष स्थानिय जातका फुलहरु समेत बिक्रि वितरण हुने भएको पूर्व अध्यक्ष दील बहादुर गुरुङले बताउनु भयो ।
फ्यानले २०६२ साल देखि कास्की जिल्लामा विधिवत स्थापना भई पुष्प व्यवसायीक विकास विस्तार तथा प्रर्वद्धनका लागि लगातर रुपमा पुष्प मेला प्रदर्शनीको आयोजना गर्दै आएको छ । यस मेलाबाट पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने फूल बिरुवा प्रति अभिरुचि राख्ने यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैका निम्ती उपयोगी हुने विश्वास फ्यानले विश्वास व्यक्त गरेको छ ।
यस गोदावारी फूलको प्रदर्शनीमा बिस हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ । उक्त मेला सम्पन्न गर्न पोखरा महानगरले समेत समन्वय गरेकोले पोखरा महानगर, व्यवसायी सहितको टोलीले यस बर्षको लागि पोखरामा फुलको मालाको समेत मुल्य निर्धारण गरेको छ । प्रति माला सानोलाई १०० देखि मध्यम प्रकारको लागि १५० र ठुलो मालालाई भने १८० मा बिक्रि गर्ने निर्णय भएको फ्यानले जनाएको छ ।