पर्वतीय दौड प्रतियोगितामा सहभागी हुने आज अन्तिम दिन

-


     पोखरा क्लिक     
     असाेज ८ गते २०८१ मा प्रकाशित


पोखरा क्लिक प्रथम पर्वतीय खुला दौड प्रतियोगितामा सहभागी हुनका लागि नाम दर्ता गराउने आज अन्तिम दिन रहेको छ ।

विश्व शान्ति तथा विश्व पर्यटन दिवसको सन्दर्भ पारेर पुम्दीभुम्दीमा पहिलो पटक आयोजना गरिएको उक्त दौडमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका धावक सहभागी हुने भएका छन् ।

प्रतियोगितामा सहभागी हुनका लागि मङ्गलवार राती १२ बजेसम्म अनलाइन फर्म भर्ने समय रहेको हुँदा अझै सहभागीको संख्या बढ्न सक्ने सम्भावना पर्याप्त देखिएको कार्यक्रम संयोजक दीननाथ बराल बताउँछन् ।

उक्त प्रतियोगिता सफल पार्नका लागि पोखरा क्लिक सञ्चार गृहले यस अघि पोखरा बजार क्षेत्रका साथै पोखरा २२ का सरोकारवाला अन्तरक्रियासमेत गरिसकेको छ ।

‘खेल पर्यटन प्रवद्र्धनमा पुम्दीभुम्दी पर्वतीय दौड’ नाराका साथ सम्पन्न हुन गइरहेको उक्त ८ किलो मिटर खुला पर्वतीय दौडको रूट पहिचान सहजताका लागि पोखरा क्लिकको युट्यूब च्यानलमार्फत् पनि जानकारी लिन सकिने आयोजकले जनाएको छ । रूट यहाँ क्लिक गरेर हेर्न सकिने छ (https://www.youtube.com/watch?v=-bYc8lxc2vc)

उक्त प्रतियोगितामा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको प्रवद्र्धन रहेको छ ।

असोज १२ गते बिहान शुरु हुने उक्त दौड विश्व शान्ति स्तूपदेखि सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ वडा कार्यालय हुँदै बुद्ध पार्क निगाले डाँडासम्म पुगेर टुङ्गिने जनाइएको छ ।
आफ्नो वडामा नयाँ अवधारणाका साथ पहिलो पटक पर्वतीय दौड प्रतियोगिता आयोजना गरिएकाले सो दौडलाई सभ्य र भव्य रूपमा सफल पार्न वडा २२ का सम्पूर्ण जनसमुदायलाई सहयोग गर्नका लागि वडा कार्यालयले अनुरोध समेत गरेको छ ।

प्रतियोगितामा खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजारद्वारा पुरस्कृत हुने छन् । यस्तै महिला धावक, १६ वर्ष मुनिका बालबालिका धावक र पोखरा–२२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद ७ हजारसहित पुरस्कृत हुने भएका छन् ।
प्रतियोगितामा सहभागी हुनका लागि अनलाइन रजिष्ट्रेशनको मिति २०८१ असोज ८ गते अर्थात्सम्म रहेको छ । इच्छुक धावकले मङ्गलवार राति १२ बजेसम्म नाम दर्ता गराउन सक्नेछन् । जसका लागि यो लिंक क्लिक सकिने छ

(https://pokharaclick.com/first-hill-running-competition-registration-form/)