सहारा क्लवले २६ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने, सहारा खेलकुद पुरस्कार शर्मालाई

-


     पोखरा क्लिक     
     भाद्र २५ गते २०८१ मा प्रकाशित


पोखरा, २५ भदौ,

पोखराको सहारा क्लवले आफ्नो स्थापनाको २६ औं बर्ष गाँठमा विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । क्लवले २६ औं बार्षिकोत्सवको अवसरमा सरसफाई, रक्तदान, पुरस्कार वितरण तथा सम्मान सहितको कार्यक्रम गरी मनाउने भएको क्लवका अध्यक्ष केशवराज बरालले बताउनु भयो ।

यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुराम शर्मालाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले नेपाल टेलिभिजनका कास्की संवाददाता शर्मालाई छनोट गरेको हो । उक्त सिफारिस सहारा क्लब पोखराको बैठकले अनुमोदन गरेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनु भयो ।

२०५० सालदेखि नेपाल टेलिभिजनमा आबद्ध शर्माले भिटोफ सम्मान, लेखनाथ पत्रकारिता पुरस्कार, तत्कालीन जिविसको पुरस्कार लगायत दर्जन बढी सम्मान तथा पुरस्कारबाट सम्मानित हुनु भएको छ ।

छनोट समिति सदस्यमा क्लब सल्लाहकार दीपेन्द्र श्रेष्ठ, खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराल, निवर्तमान अध्यक्ष हरिराम गुरुङ, पूर्व अध्यक्ष केशवबहादुर थापा, वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ तथा पदेन सदस्यमा अध्यक्ष केशवराज बराल र महासचिव रामजीप्रसाद अधिकारी रहनु भएको थियो ।

यस्तै, सहारा उत्कृष्ट सदस्य सम्मान लिलबहादुर थापालाई प्रदान गरिने भएको छ । थापा क्लबमा २ कार्यकालसम्म सहकोषाध्यक्ष भएर काम गर्नु भएको थियो । सहारा फुटबल एकेडेमीको व्यवस्थापन समितिका सदस्य समेत हुनुहुन्छ । महासचिव अधिकारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिमा बिनु राना र सुशील रिमाल सदस्य रहनु भएको थियो । यही भदौ ३० गते सहारा क्लब स्थापनाको २६ औं वार्षिकोत्सव अवसरमा पुरस्कार तथा सम्मान अर्पण गरिने क्लबले जनाएको छ ।