बिएससी नर्सिङको प्रवेश परीक्षा प्रतिभा माविकी आयुषा ढकाल नेपालमै उत्कृष्ट

-


     पोखरा क्लिक     
     भाद्र १९ गते २०८१ मा प्रकाशित


पोखरा, भदौ १९,

चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षामा बिएसस्सी नर्सिङतर्फ पोखराको पालिखेचोकस्थित प्रतिभा माविकी आयुषा ढकाल नेपालमै उत्कृष्ट ठहरिएकी छिन् । प्रवेश परीक्षामा करिब १४ हजार प्रतिश्पर्धीलाई उछिन्दै ढकालले पहिलो नम्बरमा आफुलाई उभ्याएकी हुन् । ढकालले सर्वाधिक १६४ अंक ल्याएकी छिन् ।

हालै प्रकाशित प्रवेश परीक्षाको नतिजामा सर्वाधिक अंक ल्याएर नेपालमै उत्कृष्ट भएको भन्दै प्रतिभा माविले बुधबार ढकाललाई विद्यालयमै सम्मान पनि गरेको छ । प्रतिभा माविका प्राचार्य किरण सापकोटाका अनुसार ढकाल पहिलेदेखि नै पढाईमा अब्बल थिईन । त्यसकै परिणामस्वरुप यो वर्ष नेपाल टप गर्न सफल भएको सापकोटाले बताए ।

‘प्रतिभाको उत्कृष्टतामा आयुषाको परिणामले अर्काे इटा थपिएको छ । गुणस्तीय शिक्षा र सबैको मेहनतले यो सफलता हात परेको हो,’ उनले भने, ‘प्रतिभाले यसअघि पनि यस्तै प्रतिभावान विद्यार्थी उत्पादन गरेको थियो । आगामि दिनमा थप प्रतिभावान विद्यार्थी उत्पादनमा हामीले जोड दिएका छौ ।’ ढकालले अब सरकारी पूर्ण छात्रवृत्तिमा चारवर्षे बिएसस्सी नर्सिङ अध्ययन गर्न पाउनेछिन् । ‘आयुषाको रिजल्ट उत्कृष्ट हुनेमा हामी पहिल्यै नै आशावादी थियौ । यो पटक त्यो प्रमाणित भएको छ,’ उनले भने ।
आमा मिनादेवी ढकालले सानैदेखि मेहनती भएकै कारणले आयुषाले यो पटक नेपालमै आफुलाई अब्बल सावित गर्न सफल भएको बताईन । ‘यसअघिका अरु परीक्षामा पनि आयुषा अब्बल नै थिईन । तर, यो पटक नेपालमै सर्वाेत्कृष्ट सावित गर्न सफल भएकी छिन,’ उनले भनिन, ‘हामी अभिभावकको पनि पहिचान फराकिलो बनाएको छ ।’ पुख्र्याैली घर स्याङजा भएको ढकाल परिवार हाल पोखराको बिरौटामा बस्दै आएको छ । तीन सन्तानमध्येकी जेठी छोरी आयुषाको रिजल्टले अरुलाई पनि अध्ययनमा बल पुगेको उनले बताईन ।

उत्कृष्ट ठहरिएकी आयुषाले अब स्वदेशमै स्वास्थ्य क्षेत्रमा अध्ययन गर्ने आफ्नो चाहना पुरा भएको बताईन । ‘सरकारी छात्रवृत्तिमा स्वदेशमै चिकित्सा शिक्षा अध्ययन गर्न पाउने अवसर जुटेको छ । मेहनत गरेर अध्ययन गरेमा सफलता मिल्ने रहेछ भन्ने प्रमाणित भएको छ,’ उनले भनिन ।

विद्यालयले उत्कृष्ट भएकी आयुषालाई बुधबार अरु विद्यार्थीमाझ पनि परिचित गराएको थियो । आयुषाको अध्ययन र मेहनत अरु विद्यार्थीका लागि पनि प्रेरणा बन्ने भएकोले विद्यार्थीमाझ परिचित गराएको प्राचार्य सापकोटाले बताए । सरकारले यो वर्ष १७ सय २० जनाका लागि बिएसस्सी नर्सिङतर्फ कोटा छुट्याएको छ । तीमध्ये ५ सय ३५ जना छात्रवृत्तिको कोटा अध्ययन गर्न पाउँछन् ।

चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षामा बिएसस्सी नर्सिङतर्फ उत्कृष्ट भएकी प्रतिभा माविकी आयुषा ढकाललाई बुधबार विद्यालयमा स्वागत र सम्मान गरिँदै ।